चरिकोटमा प्रथम भीमेश्वर मेयर कप सुरु, उद्घाटन खेलमा ग्रिन नेपाल विजयी

 शम्भु गौतम     २२ जेष्ठ २०७५, मंगलवार

दोलखा जेठ २२
दोलखा सदरमुकाम चरिकोटमा प्रथम भीमेश्वर मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले निर्णायकलाई फुटबल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
भीमेश्वर नगरपालिकाको आयोजना तथ ग्रिन नेपाल र इको टिपार्कको सहआयोजनामा ‘सेभेन ए साइड प्रथम भीमेश्वर मेयर कप’ पुरुष फुटबल प्रतियोगिता आज देखि चरिकोटमा सरु भएको हो । यो खेलमा एक टिममा ७ जना खेलाडीहरु रहन्छन् । प्रतियोगिताको लागि प्राविधिक सहयोग दोलखा जिल्ला फुटबल संघले गरिरहेको छ । संघले प्रतियोगिताको लागि दुईवटा फूटबल समेत प्रदान गरेको छ ।
खेलमा प्रथम, द्वितीय हुनेलाई सिल्ड, मेडल, प्रमाणपत्र सहित क्रमशः ४० हजार र २० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी सेमिफाइनलमा पुगेका २ टिमलाई पनि सिल्ड, मेडल, प्रमाणपत्र सहित ५/५ हजार रुपैयाँ प्रदान गरिने छ ।
आज भएको उद्घाटन खेलमा सहआयोजक ग्रिन नेपालले द राईजिङ स्टार स्कुल चरिकोटलाई २–० ले पराजित गरेको छ । आजै भएको दोस्रो खेलमा सिङलमु युनाइटेड जिरीले कामावि चरिकोटलाई ६–० ले पछि पार्दै जित हासिल गरेको छ । त्यसैगरी तेस्रो खेलमा माउन्ट भ्याली एकेडेमी चरिकोटले द स्याभेज चरिकोटलाई ३–० ले हराउँदै जित हासिल गरेको छ भने आजको अन्तिम खेलमा न्यु जेनेरेजन बोचले दोलखा युनाइटेड चरिकोटलाई २–० ले हराउँदै जित हासिल गरेको छ ।
‘खेलकुद हाम्रो सान, भीमसेन हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ खेलाएको ‘ए साइड’ फुटबल प्रतियोगितामा ५५ मिटर लम्बाइ र ४० मिटर चौडाइ भएको मैदानमा खेल खेलाइएको छ । जहाँ गोल पोस्टको उचाइ ७ फिट र लम्बाइ ११ फिट कायम गरिएको छ भने खेल ४० मिनेट मात्रै खेलाइएको छ ।
१७ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल यही २६ गते हुने आयोजकले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।