कुचो बोकेर महेन्द्रनगरमा महिलाहरुको प्रदर्शन

 अावाज स‌‌वाददाता     १६ आश्विन २०७५, मंगलवार

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग राखेर मंगलबार महेन्द्रनगरमा हात–हातमा कुचो समातेर महिलाहरुले प्रदर्शन गरेका छन् ।

दबावमुलक संघर्ष समितिको अगुवाईमा महिलाहरुले हातमा कुचो समातेर महेन्द्रनगर बजारमा प्रदर्शन गरेका हुन् । काठमाण्डौबाट आएकी अभियन्ता सावित्री सुवेदीसहितको सहभागीतामा महिलाहरुले प्रदर्शन गरेका हुन् ।

बजार क्षेत्रका विभिन्न स्थानमा प्रदर्शन गरेका महिलाहरुले जिल्ला प्रशासनको मुल गेटमा पुगेर केहीबेर प्रदर्शन गरे । उनीहरुले निर्मला पन्तको बलात्कार र हत्याका अपराधि पक्राउ नपरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

बुधवार सुदूरपश्चिम प्रदेश सरकार कार्यालयमा घेराउ र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको दबावमुलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले बताइन् । दबावमुलक संघर्ष समितिले घटना भएदेखि नै चरणबद्ध रुपमा विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।