दोलखामा ४१ हजार निजी आवास पुनर्निर्माण

 अावाज स‌‌वाददाता     २३ आश्विन २०७५, मंगलवार

भूकम्प गएको साढे तीन वर्षपछि दोलखामा ४१ हजार निजी आवास पुनर्निर्माण सकिएको छ । भूकम्पको तीन वर्ष पाँच महिना पूरा हुँदा दोलखामा ४१ हजार दुई सय २७ वटा निजी आवास निर्माण सकिएको हो ।

निजी आवास निर्माण सकेकामध्ये ३९ हजार ४ सय ३९ परिवारले अन्तिम किस्ताबापतको रकम प्राप्त गरिसकेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भूकम्पीय आवास पुनर्निर्माण शाखा दोलखाका प्रमुख इन्जिनियर निर्मलदर्शन आचार्यले जानकारी दिए । १ हजार ७ सय ८८ लाभग्राहीले भने तेस्रो किस्ताका लागि निवेदन दिएका छन् ।

आवास निर्माण सुरु गरेका ४९ हजार ७ सय ७५ परिवारले दोस्रो किस्ताबापतको रकम लगिसकेका छन् भने ९ सय २५ परिवारले दोस्रो किस्ता रकम निकासाका लागि आवेदन दिएका छन् । दोलखामा ६८ हजार ७ सय ६१ परिवार लाभग्राहीका सूचीमा छन् । त्यसमध्ये ६० हजार ९ सय १४ जनाले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेर पहिलो किस्ता लगिसक्ने परिवारको संख्या भने ६० हजार ८ सय पुगेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको बिगु गाउँपालिका–२ ओराङ र बैतेश्वर गाउँपालिका–३ यार्सा गाउँमा दाताको सहयोगमा निजी आवास पुनर्निर्माणको काम सकिएको छ । कार्यालय प्रमुख आचार्यले यही रफ्तारमा पुनर्निर्माणको काम अघि बढेमा राज्यले तोकेकै अवधिमा दोलखाको पुनर्निर्माण सम्पन्न हुने दाबी गरे ।

दोलखाका भूकम्पपीडितले धमाधम नयाँ आवास निर्माण गरे पनि पुरातात्विक कला र संस्कृतिको भने जगेर्ना हुन नसकेको गुनासो आउन थालेको छ । अधिकांश पीडितले पुरानो कला संस्कृति झल्कने खालका घर निर्माण गरेका छैनन् ।

नयाँ पत्रिका

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।