जलविद्युत् आयोजना क्यू ४५ को व्यवस्थामा इप्पानको विरोध

 अावाज स‌‌वाददाता     २८ कार्तिक २०७५, बुधबार

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले क्यू ४५ मा जलविद्युत् आयोजनाहरूको डिजाइन गर्नुपर्ने बाध्यकारी व्यवस्थाको विरोध गरेको छ । सरकारले हालै जारी गरेको ‘जलविद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका–२०७५’ले क्यू ४५ मा आयोजना डिजाइन गर्नुपर्ने व्यवस्था गरेपछि इप्पानले विरोध जनाएको हो ।

यसअघि ‘हाइड्रोलोजिकल टाइम सिरिज डाटाको प्रोबाब्लिटी अफ एक्सिडेन्स’ घटीमा क्यू ४० सम्म मानेर जलविद्युत् आयोजनाहरू डिजाइन गर्न पाउने व्यवस्था थियो । हालको व्यवस्थाले जलस्रोतको अधिकतम उपयोग नहुने इप्पानको ठहर छ । ‘जलविद्युत् आयोजनाको क्यू जति घटायो, विद्युत् उत्पादन त्यति नै बढाउन सकिन्छ, तर क्यू बढायो भने लागत बढ्छ,’ इप्पान अध्यक्ष शैलेन्द्र गुरागाईंले भने, ‘माथिल्लो तामाकोसी क्यू ३२ मा बनाइएको छ, त्यसैले त्यहाँबाट बढी बिजुली आउँछ ।’ हाल श्रीलंकाले क्यू २० र भारतले क्यू २५ सम्ममा जलविद्युत् आयोजनाहरू बनाइरहेको बताउँदै उनले नेपालले क्यू बढाउनु आश्चर्यजनक भएको बताए ।

‘क्यू बढाएर सरकारलाई के फाइदा छ, मैले बुझ्न सकेको छैन,’ उनले भने, ‘क्यू घटाएर वा खुला गरेर आर्थिक रूपमा लाभदायक हुने गरी आयोजनाहरू बनाउँदा देशले बिजुली र रोयल्टी दुवै बढी पाउँछ ।’ सरकारले टुकी बत्ती मात्र विस्थापित गर्ने मनस्थिति नराखी विद्युत् व्यापार सम्झौता भएका मुलुकहरूमा इनर्जी बैंकिङ गर्ने, खाना पकाउने ग्यास र पेट्रोलियम तथा जैविक इन्धनलाई विस्थापित गर्ने हो भने क्यू बढाउने मनस्थिति नै नआउने उनले बताए ।

विगतमा क्यू ६५ मा डिजाइन गर्नुपर्ने व्यवस्था रहेकामा इप्पानकै मागका आधारमा क्यू ४० सम्ममा डिजाइन गर्न पाउने व्यवस्था गरिएको थियो । तर, अहिले सरकारले झनै प्रतिगामी देखिने गरी क्यू ४५ मा आयोजना बनाउने व्यवस्था ल्याउँदा देशको ऊर्जा उत्पादनको सम्भाव्य क्षमतासमेत खुम्चन जाने इप्पानको तर्क छ ।

नया पत्रिका

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।