राष्ट्रिय परिचयपत्र वितरण आजबाट सुरु गर्ने

 अावाज स‌‌वाददाता     ३ मंसिर २०७५, सोमबार

सरकारले राष्ट्रिय परिचयपत्र वितरण आज सुरु गर्ने भएको छ। सरकारले आठ वर्षको गृहकार्यपछि पाँचथरबाट राष्ट्रिय परिचयपत्र बाँड्न सुरु गर्ने भएको हो।

पाँचथर फिदिमकी १०१ वर्षीया भगवती भण्डारी र एक उच्च सरकारी अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाले परिचयपत्र हस्तान्तरण गरेर वितरण अभियानको उद्घाटन गर्ने कार्यक्रम छ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागका अनुसार चिप प्रविधिमा आधारित जैविक तथा वैयक्तिक विवरणसहितको परिचयपत्र वितरण गर्न लागिएको हो।

पहिलो दिन पाँचथरका अन्य ४८ जनालाई परिचयपत्र बाँडिने विभागले जनाएको छ। परिचयपत्रका लागि पाँचथरमा ५२ हजार जनाको विवरण संकलन भइसकेको छ ।

यसै वर्ष देशका ७७ वटै जिल्लामा परिचयपत्र वितरण सुरु गरिने विभागले जनाएकाे छ।

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा सरकारले परिचयपत्र वितरण गर्न लागेको हो। एक लाख १७ हजार परिचयपत्र छाप्न एडिबीले करिब ५५ करोड रुपैयाँ अनुदान दिनेछ। यसबाहेक सबै परिचयपत्र सरकारकै बजेटमा छापिनेछ ।

०६६/६७ मा सरकारको नीति तथा कार्यक्रममै राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी योजना समेटिएको थियो। ०६७ मा गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरिएको थियो ।

तत्कालका लागि नागरिकता लिएका व्यक्तिलाई मात्र सरकारले राष्ट्रिय परिचयपत्र दिनेछ । पछि सबै नागरिकलाई वितरण गर्ने योजना छ ।

तीन वर्षभित्र देशभरिका १६ वर्ष भन्दा माथिको उमेरका नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको विभागले जनाएको छ ।

सुरुमा सरकारले नागरिकतालाई विस्थापित गर्न राष्ट्रिय परिचयपत्र जारी गर्ने उद्देश्य लिएको थियो। तर, वितरण गर्न लागिएको परिचयपत्र नागरिकताको विकल्प नबन्ने भएको छ । परिचयपत्र लिए पनि नागरिकता लिनुपर्छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।