दोलखा जिल्ला फुटबल संघ सेमीफाइनल प्रवेश

 शम्भु गौतम     ३ मंसिर २०७५, सोमबार

दोलखा, मंसिर ३

प्रकाश स्मृति कप २०७५ खुला फुटबल प्रतियोगिताको आज भएको क्वाटरफाइनल खेलमा दोलखा जिल्ला फुटबल संघले सानो गौचरण क्लब, काठमाडौँलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
आज भएको दोस्रो खेलमा ४–० गोलको अन्तरमा सानो गौचरण क्लबलाई स्तव्ध पार्दै दोलखा जिल्ला फुटबल संघ सेमीफाइनलमा प्रवेश गरेको हो ।
दोलखाका लागि हिमाल श्रेष्ठले २५ औँ मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता दिएका थिए । दोलखाली टीम क्याप्टेन सन्त तामाङले ६७ औँ मिनेटमा अर्को गोल थप्दै खेललाई अग्रता दिलाएका थिए । त्यस्तै दोलखाली टिमकै सुरेन्द्र बुढाथोकीले अर्को गोल थप्दै ३–० को अग्रता दिलाए भने खेलको ८५ औँ मिनेटमा अर्को गोल थपेर दोलखाली टिमलाई ४–० को अन्तरमा विजयी गराए । यससँगै प्रतियोगिताकै दावेदार मानिएको सानो गौचरण क्लब काठमाडौँ घर फर्किएको छ ।
प्रतियोगिताको म्यान अफ द म्याचको उपाधि दोलखा जिल्ला फुटबल संघका डिफेन्डर विवेक बुढाथोकीले पाएका छन् ।
त्यसैगरी आज भएको पहिलो खेलमा काभ्रे जिल्ला फुटबल संघले दीपशिखा युवा क्लब रामेछापलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
काभ्रेका लागि ५ औँ र ५३ औँ मिनेटमा क्याप्टेन समीर खड्काले २ गोल र ६३ औँ मिनेटमा रुमन श्रेष्ठले गरेका थिए ।
यो प्रतियोगिताको म्यान अफ द म्याचको उपाधि काभ्रेका क्याप्टेन समीर खड्काले पाएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।