भ्याट फिर्ता गर्ने व्यवस्था सम्भव छैन : अर्थमन्त्री

 अावाज स‌‌वाददाता     ६ मंसिर २०७५, बिहीबार

अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो कार्यकालमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने व्यवस्था नहुने घोषणा गरेका छन् । भ्याट फिर्ता गर्ने व्यवस्था समग्र अर्थतन्त्रका लागि विकृतिको जड भएको उनको भनाइ छ ।

आन्तरिक राजस्व विभाग र नेपाल उद्योग परिसङ्घले कर सप्ताहको अवसरमा बुधवार राजधानीमा आयोजना गरेको ‘कर सुधार : आजको अपरिहार्य’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । ‘भ्याट उपभोक्ताबाट उठाइएको छ,’ उनले भने, ‘फिर्ता गर्नुपर्छ भनेर व्यापारीहरू भन्छन् ।’ तसर्थ, भ्याट फिर्ता हुने व्यवस्था ल्याउन सरकार असमर्थ नरहेको उनको भनाइ छ ।

यस्तै, उनले करको भौगोलिक दायरा बढाउन आवश्यक भएको बताए । उनले भने, ‘कृषि क्षेत्रलाई अझ करको दायरामा ल्याउन सकिएको छैन । वर्षाैदेखिका करदातालाई नै करको बोझ थपिएको छ ।’ यस्ता समस्यालाई दृष्टिगत गर्दै कर प्रणालीलाई अन्तरराष्ट्रिय स्तरको बनाउने उनको भनाइ छ । उनले देश पहिलो पटक सङ्घीयतामा अगाडि बढेको हुनाले कर प्रणालीमा दुविधा भएको बताए ।

यस्तै, उनले अनुगमनको विषयलाई लिएर सरकारलाई नकरात्मक टिप्पणी गर्नुको औचित्य नभएको बताए । निजीक्षेत्रसँग नै हातेमालो गरेर सरकार समृद्धिको बाटोमा अगाडि बढ्न चाहेको उनको भनाइ छ ।

साथै, उनले चालू आर्थिक वर्षको पूँजी खर्च शतप्रतिशत हुने दावी गरे । अन्तरक्रियामा व्यवसायीले कर प्रणालीको सुधार गर्न अपरिहार्य रहेको बताए । औद्योगिक क्षेत्रको विकास र लगानी भित्र्याउन कर प्रणालीलाई न्यायपूर्ण बनाउनुपर्ने उनीहरूको भनाइ छ । साथै, कर प्रणाली न्यायपूर्ण नहँुदा वैदेशिक लगानी भित्रिने सम्भावना पनि न्यून हुने व्यवसायी बताउँछन् ।

यस्तै, विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले सरकार करको दरभन्दा पनि दायरा बढाउने लक्ष्यमा रहेको बताए । एकीकृत कर प्रणालीसम्बन्धी ऐनको मस्यौदा बनिसकेकाले केही समयमा नै करको विवाद अन्त्य हुने उनको भनाइ छ

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।