प्रकाश स्मृति कपको उपाधि प्लानिङ व्वाइजलाई

 शम्भु गौतम     ७ मंसिर २०७५, शुक्रबार

 दोलखा, मंसिर ७

प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको पहिलो संस्करणको उपाधि प्लानिङ व्वाइज क्लब, काठमाडौँले आफ्नो पोल्टामा पारेको छ । आज दोलखा जिल्ला फुटबल संघ दोलखालाई २–१ गोलको अन्तरमा स्तव्ध पार्दै प्लानिङ व्वाइजले उपाधि हात पार्न सफल भएको हो ।
आज सदरमुकाम चरिकोटको टुँडिखेलमा भएको फाइनल प्रतिस्पर्धामा उपाधि जित्दै प्लानिङ व्वाइजले नगद २ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । विजयी टिम तथा खेलाडीहरुलाई खानेपानी मन्त्री विना मगरले पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिन् ।
त्यसैगरी प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने दोलखा जिल्ला फुटबल संघले १ लाख २५ हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । सेमीफाइनल पुग्ने टिमलाई ३०/३० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । एपीएफ र दीपशिखा युवा समूह नैकाप सेमीफाइनलमा पराजित भएको थिए ।
त्यसैगरी प्लानिङ व्वाइजका विष्णु केसीले उत्कृष्ट किपर, प्लानिङकै दावा शेर्पा हाइस्कोररको उपाधि पाए । दोलखा जिल्ला फुटबल संघका विवेक बुढाथोकीले वेष्ट डिफेन्डर, हिमाल श्रेष्ठले वेष्ट स्ट्राइकर र सुजन श्रेष्ठले म्यान अफ द म्याचको उपाधि पाएका छन् । उनीहरुले जनही १०/१० हजार रुपैँया र ट्रफी पाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको स्मृतिमा रिनेजम नेपालले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको सहआयोजक दोलखा जिल्ला फुटबल संघ रहेको थियो । प्रतियोगितामा दोलखाको एकसहित विभिन्न १२ टिमको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।