अपर तामाकोशीको आईपीओमा ६ हजारको दोहोरो आवेदन

 अावाज स‌‌वाददाता     ८ मंसिर २०७५, शनिबार

अपर तामाकोशीको आईपीओमा ६ हजार आवेदकले दोहोरो आवेदन गरेका छन् । विक्री प्रबन्धक नागरिक लगानी कोषले दोहोरो आवेदकहरुको पहिचान भईसकेकाले ती आवेदकको आवेदन रद्ध गरी बाँकीलाई शेयर बाँडफाँट गर्ने जानकारी दिएको छ । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र आयोजना प्रभावित स्थानियलाई शेयर जारी गरेको थियो । यसअघि विक्री प्रबन्धकले मङ्सिर पहिलो सातामै बाँडफाँटको तयारी गरेको थियो । पहिला नै शेयर प्राप्त गरेकाहरुले यस पटक पनि आवेदन गरेकाले तिनको पहिचानका कारण शेयर बाँडफाँटमा ढिलाई भएको हो ।

कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ विक्री गरेको थियो । यस आईपीओमा ३ लाख ४६ हजार आवेदकबाट रू. ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको विक्री प्रबन्धकको भनाइ छ । आईपीओ खरीदका लागि न्यूनतम ५० र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

धितोपत्र बाँडफाँट निर्देशिकामा भएको व्यवस्था अनुसार ३ लाख ४० हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा ४० कित्तासम्म शेयर प्राप्त गर्नसक्नेछन् । बाँकी शेयर गोलाप्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाउने देखिन्छ । नेपाल विद्युत प्राधिकरण सहित नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानीकोष संस्थापक शेयरधनी रहेको यस कम्पनीको दोलखाको लामा बगरमा ४ सय ५६ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।