आगलागीबाट बृद्धको मृत्यु

 शम्भु गौतम     ३ पुष २०७५, मंगलवार

दोलखा, पुस ३

दोलखा जिल्ला विगु गाउँपालिका ८ थामीचागुमा त्रिपालमा बस्दैआएका एक बृद्धको आगलागीबाट मृत्यु भएको छ । भूकम्पका कारण आवास गुमाएका थामीचागुका ७५ वर्षीय बलबहादुर थामीको आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
२०७२ को भूकम्पले आवास गुमाएका थामी अस्थायी रुपमा त्रिपालमा बस्दै आएका थिए । निजी आबास निर्माण गर्दैरहेका थामी नजिकै त्रिपालमा आगो तापेर बसेका बेला सोलारको ब्याट्री पड्किएर उनको घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
मृतक थामी आफ्ना दुई नातिहरुसँगै बस्दैआएको भए पनि उनीहरु खाना खान माथिल्लो घरमा गएका बेला आगलागी भएको उनका नातिहरु सकुशल रहेका छन् ।
आगलागीबाट चार लाख रुपैयाँ बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।