नेपालीहरुको वार्षिक मोबाइल खर्च ७१ अर्ब

 अावाज स‌‌वाददाता     ११ पुष २०७५, बुधबार

काठमाडौ, ११ पुष ।आर्थिक बर्ष २०७४÷७५ मा नेपालीहरुको वार्षिक मोबाइल खर्च ७१ अर्ब पुगेको नेपाल टेलिकम र एनसेलले दुरसञ्चार प्राधिकरणलाई बुझाउको प्रतिबेदनमा उल्लेख छ । गत आर्थिक बर्ष नेपालीहरुले मोबाइलमा खर्च गरेको कुल रकम र नेपालको जनसंख्यालाई आधार मानेर औषतमा प्रति नेपालीको मोबाइल खर्च निकालिएको हो । नेपालको मोबाइल सेवा बजारमा करिब ९९ प्रतिशत बजार हिस्सा यी दुइ कम्पनीकै रहेको छ । आर्थिक वर्ष ०७३÷७४ मा ६७ अर्ब ८ करोड रहेको नेपालीको मोबाइल खर्च गत आवमा ७१ अर्ब रुपैयाँ पुगेको थियो । सो अवधिमा नेपालीहरूले ४७ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ मोबाइलमा कुराकानी गर्न, १८ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ मोबाइल इन्टरनेटमा र ४ अर्ब ७७ करोड २५ लाख रुपैयाँ एसएमएस, एमएमएस, रिङब्याकटोनलगायतका भ्याल्युएडेड सर्भिस (भिएएस)मा खर्च गरेका छन् ।

उपभोक्ताले नेपाल टेलिकमबाट कुराकानी गर्दा १८ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ खर्चिँदा एनसेलबाट २८ अर्ब ७७ करोड ७५ लाख रुपैयाँबराबरको कुराकानी गरेका छन् । त्यस्तै, टेलिकमको मोबाइल इन्टरनेटमा ६ अर्ब ५ करोड ९८ लाख रुपैयाँ खर्चिएका छन् भने एनसेलको डाटामा १२ अर्ब ५९ लाख ६५ हजार रुपैयाँ खर्च गरेका छन् । एसएमएस, एमएमएस, रिङब्याकटोनलगायतका भिएएसमा टेलिकमका ग्राहकले १ अर्ब ३३ करोड ५२ लाख र एनसेलका ग्राहकले ३ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ खर्च गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।