कालिन्चोक माविमा सञ्चालित राष्ट्रिय सेवा दलको दीक्षान्त समारोह

 शम्भु गौतम     ११ पुष २०७५, बुधबार

दोलखा, पुस ११

दोलखा सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा सञ्चालित राष्ट्रिय सेवा दल सि.सं. ४५ जुनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
दीक्षान्त समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति, दोलखाका प्रमुख डबल पाण्डेले विद्यार्थीहरुमा सीप र व्यवहारको विकास गर्ने यस्तो कार्यक्रम महत्वपूर्ण रहेको बताए । हाल सदरमुकामको कालिन्चोक मावि र जिरी माविमा सञ्चालित तालिमलाई उनले सकेसम्म सबै पालिकाहरुमा पु¥याउन आग्रह गरे ।
समारोहका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जनतामा राष्ट्रिय भावना हुनु अत्यन्त आवश्यक भएको सन्दर्भ उल्लेख गर्दै तालिमले विद्यार्थीहरुमा राष्ट्रियताको भावना विकास गराउन निकै सहयोगी भएको विचार व्यक्त गरे ।
कार्यक्रममा विशेष अतिथि रणभीम गणका गणपति प्रमुख सेनानी विदुर अधिकारीले तालिमले क्याडेटहरुको सिकाइ र व्यवहारमा निखार आएको बताए । उनले क्याडेटहरुलाई दिइएको तालिम भविष्यमा सेना बनाउन नभै असल नागरिक बनाउन र परेका बेला देश र जनताको सेवा गर्न सक्ने राष्ट्रवादी नागरिक बनाउन उक्त तालिम दिइएको बताए ।
दीक्षान्त समारोहमा क्याडेटहरुले मास पीटी, तेक्वान्दो पीटी, एरोविक्स, खुकुरी ड्रिल तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । तालिममा छात्रछात्रा गरी ३६ जनाको सहभागिता रहेको छ ।
विद्यालयमा ७९ दिनको तालिम सम्पन्न गरेका उनीहरु मोरङको याङ्सिलामा २१ दिनको सामुहिक क्याम्पमा सहभागी हुनेछन् । त्यहाँ विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिई प्रतिस्पर्धामा उत्रनेछन् । त्यहाँ उनीहरुले यहाँ सिकेका सीपहरुको प्रदर्शनीका साथै भलिबल, फुटबल, दौड, सांस्कृति कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन् ।
कालिन्चोक माविले विगत तीन वर्षदेखि राष्ट्रिय सेवा दलको तालिममा सहभागी भएकोमा पहिलो वर्ष देशभरकै उत्कृष्ट विद्यालय भएको थियो भने अघिल्लो वर्ष दोस्रो हुन सफल भएको थियो ।
कालिन्चोक मावि, राष्ट्रिय सेवा दलको दीक्षान्त समारोह विद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेको अध्यक्षतामा भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।