दोलखामा हिमपात: हिउँ खेल्न निम्तो

जनजीवन प्रभावित

 शम्भु गौतम     १३ पुष २०७५, शुक्रबार

दोलखा, पुस १३

दोलखा जिल्लाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ भने जनजीवन समेत प्रभावित भएको छ ।
गत वर्षहरुमा कात्तिक महिनादेखि हिमपात हुने गरेको भए पनि यो वर्ष पहिलोपटक यो परिमाणमा हिमपात भएको हो । यसअघि करिब दुई साता पहिले कालिन्चोकमा हल्का हिमपात भएको थियो ।
दोलखा जिल्लाको कालिन्चोक, खरिढुङ्गा, जिरी, शैलुङ, चेर्दुङ लगायतको क्षेत्रमा हिमपात भएपछि सदरमुकाम चरिकोटमा हल्का वर्षा भएको छ । यसका कारण उच्च पहाडी, हिमाली क्षेत्र र चरिकोटमा समेत चिसो बढेको छ ।
कालिन्चोकमा व्यापक हिमपात भएको र त्यसका कारण चिसो निकै बढेको कालिन्चोकको कुरीस्थित होटल सुनपातीका हरिप्रसाद ओली जानकारी दिए ।
हिमपातपछि दोलखाका जिरी, खावाडाँडा, खरिढुङ्गा, शैलुङ, कालिन्चोक आदि क्षेत्रमा हिउँ खेल्नका लागि काठमाडौँ लगायतका विभिन्न क्षेत्रबाट आउने गर्दछन् ।

फोटो सौजन्यः हरि ओली, होटल सुनपाती, कुरी, कालिन्चोक

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।