कालिन्चोकमा अब नयाँ संरचना बनाउन रोक

 शम्भु गौतम     १४ पुष २०७५, शनिबार

दोलखा, पुस १४

धार्मिक एवं पर्यटकीय महत्वको प्रसिद्ध कालिन्चोक मन्दिर क्षेत्रमा अनियन्त्रित रुपमा विभिन्न होटल लगायतका संरचना बन्दै गएकोमा अबदेखि सो क्षेत्रमा नयाँ संरचना निर्माण गर्न नपाइने भएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा बसेको उच्चस्तरीय छलफलले कालिन्चोक क्षेत्रमा अनियन्त्रित रुपमा बनिरहेको संरचनाले कालिन्चोक क्षेत्र कुरुप र अव्यवस्थित हुँदै गएको भन्दै नयाँ संरचना निर्माणमा रोक लगाउने निर्णय गरेको हो । संघीय सांसद्, प्रदेश सांसद्, जिल्लास्थित राजनीतिक दल, सरोकारवाला निकायका प्रतिनिधिहरुल कालिन्चोकको कुरी तथा घ्याङडाँडा क्षेत्र अव्यवस्थित रुपमा भएको निर्माण रोक्नुपर्ने धारणा राखेका थिए ।
कालिन्चोक क्षेत्रमा अव्यवस्थित र अनियमित रुपमा संरचना निर्माण तीव्र भएका बेला प्रमुख जिल्ला अधिकारीको पहलमा छलफल राखिएको हो । छलफलले नयाँ संरचना निर्माणमा रोक लगाउनुका साथै बनिसकेका संरचनाहरुलाई आन्तरिक व्यवस्थापन गर्ने समेत निर्णय गरेको छ । आधा बनेका संरचना भने सम्पन्न गर्न दिने सहमती भएको छ । हाल सो क्षेत्रमा कालिन्चोक दर्शन प्रालिले केबलकार निर्माण गरी सञ्चालनमा ल्याएकोमा त्यसलाई समेत आवश्यक सहयोग सहित व्यवस्थापन गर्ने सहमती गरिएको छ ।
केबलकारले तिर्नुपर्ने भूबहाल कर कस्ले उठाउने भन्ने विषयमा विवाद भएपछि हाललाई जिल्ला गुठी व्यवस्थापन समितिको खातामा जम्मा गर्ने सहमती समेत भएको छ ।
कालिन्चोक क्षेत्रको जमिनको स्वामित्वको बारेमा भएको विवाद भने कायमै रहेको छ । हाल गुठी संस्थान, वन कार्यालय, गौरीशंकर संरक्षण क्षेत्र तथा स्थानीय निकायहरुबिच त्यहाँको स्वामित्वको बारेमा विवाद हुँदैआएको छ । कालिन्चोक दर्शन प्रालिले गुठी संस्थानबाट अनुमती लिई केबलकार निर्माण गरेपछि स्वामित्वको विवाद हुँदैआएको थियो ।
प्रदेश सांसद् विशाल खड्काले जग्गाको स्वामित्वको विषय कानुनी भएकोले गुठी र संरक्षण क्षेत्रलाई अदालत जान आग्रह गरे । उनले भेडपु गाउँका जनता वर्षौँदेखि सुकुम्बासी हुँदा चासो नराख्ने गुठीले कालिन्चोकको जमिनमा अनावश्यक चसो राखेको गुनासो गरे । उनले भने, ‘तर जग्गाको स्वामित्वको विवाद व्यवसायीलाई मर्का पार्नु हुँदैन, केबलकार सञ्चालनमा बाधा गर्नुहुँदैन ।’ जग्गा विवाद कानुनी विषय भए पनि कालिन्चोकको संरचनाको विषय आन्तरिक व्यवस्थापनको विषय भएको उनले बताए ।
अर्का प्रदेश सांसद् पशुपति चौलागाईँले कालिन्चोकको जग्गा विवादको विषयसँगै जिल्लाका सबै ठाउँको त्यस्ता प्रकृतिका जग्गाहरुको व्यवस्थापनको पहल गर्नुपर्ने बताए । केबलकारको विवादको प्रसङ्गमा उनले लगानीकर्ताहरुलाई लगानीको वातावरण दिनुपर्ने बताए । उनले लगानीकर्तालाई दोलखामा लगानी गरेर कर तिर्न समेत आग्रह गरे ।
संघीय सांसद् पार्वत गुरुङले जिल्लाभरि यसरी भएका अतिक्रमण रोक्ने गरी लाग्नुपर्ने बताए । उनले त्यसका लागि अध्ययन टोली बनाउन सुझाए ।
छलफल कार्यक्रम जिल्ला गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको अध्यक्षतामा भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।