माथिल्लो तामाकोशीको तल्लो पेनस्टकको जिम्मा अब लट ३ लाई

 शम्भु गौतम     २५ पुष २०७५, बुधबार

दोलखा, पुस २५

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो भर्टिकल साफ्टमा पाइप जडानको कार्य अब लट ३ ले गर्ने भएको छ ।
भर्टिकल साफ्टमा पाइप जडान कार्यमा भएको ढिलाइकै कारण आयोजना नै ढिलाइ भैरहेका बेला तल्लो भर्टिकल साफ्टमा पाइप जडान गर्ने काम लट ३ को एण्डिज हाइड्रोले गर्ने सहमती भएको हो ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले लट २ अन्तर्गतको भर्टिकल साफ्टको काममध्ये तल्लो पेनस्टकको काम लट ३ ले गर्ने गरी सहमती भएको जानकारी दिए । पेनस्टककै कारण आयोजना निर्माणमा ढिलाइ भैरहेकोमा उक्त काम लट ३ लाई दिएपछि पछिल्लो निर्धारित समयमै आयोजना सम्पन्न गर्नका लागि सघाउ पुग्ने पनि उनले जानकारी दिए ।
पेनस्टक पाइप ढुवानीमा पनि ढिलाइ भएकोमा अहिले सो काम भने सन्तोषजनक रुपमा भैरहेको प्रवक्ता न्यौपानेले बताए । उनले भने, ‘अब ५० वटा जति मात्रै ढुवानी गर्न बाँकी छ । ठेकेदारले आफ्नै मेशिन राखेर बाटो सफा गर्दै पाइप ढुवानी गरिरहेको छ ।’ पहिलाको तुलनामा सडक केही सजिलो भएकोले पाइप ढुवानीको काम निरन्तर भएको पनि उनले बताए ।
ग्रस हेड ८२२ मिटर भएको आयोजनाको माथिल्लो भर्टिकल साफ्ट ३१० मिटर र तल्लो भर्टिकल साफ्ट ३७३ मिटर छ । पाइप जडानका लागि तयारी अवस्थामा भए पनि दुवै खण्डमा पाइप जडानको कार्य सुरु भएको छैन ।
माथिल्लो भर्टिकल साफ्टमा अढाइ मिटर लम्बाइका १२४ वटा र तल्लो भर्टिकल साफ्टमा ५ मिटर लम्बाइका ७४ वटा पाइपहरु जडान गरिनेछ ।
४५६ मेगावाटको यो आयोजनाको काम समग्रमा ९७ दशमलव ५ प्रतिशत सम्पन्न भैसेको छ भने लट १ अन्तर्गतको सिभिल कार्य ९९ प्रतिशत सम्पन्न भैसकेको प्रवक्ता न्यौपानेले जानकारी दिए । लट २ को काम पनि सन्तोषजनक रुपमा भैरहेको र अहिले गेट राख्ने तथा स्टपलगको काम भैरहेको आयोजनाले जानकारी दिएको छ ।
पावरहाउसको काम करिब सम्पन्न भैसकेको र टेस्ट गर्न तयारी अवस्थामा रहेको प्रवक्ता न्यौपानेको भनाइ छ । त्यसैगरी प्रसारण लाइनको काम पनि कार्यसूचि अनुसार नै रहेको आयोजनाले जनाएको छ ।
२०७२ को विनासकारी भूकम्पका कारण क्षति र ढिलाइले महँगिएको आयोजना खाडीचौर–चरिकोट सडक खण्डको निर्माणमा भएको ढिलाइका कारण अझ महँगिएको छ । आयोजनाको ऋणवापताको रकमका कारण पनि यसको लागत बढेको हो । आयोजनाले मासिक २८ करोड बढी ऋणको व्याज तिरीरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । आयोजना ढिलाइ र व्याजकै कारण यो सम्पन्न हुने बेलासम्म यसको लागत करिब ७० अर्व पुग्ने उनको अनुमान छ । यो आयोजनाको सुरु लागत ३५ अर्व २९ करोड अनुमान गरिएको थियो । यो लागत पनि आयोजना एक वर्षभित्र सम्पन्न हुन्छ भन्ने प्रक्षेपणका आधारमा निर्धारण गरिएको हो । आयोजनाले सन् २०१९ डिसेम्बरमा काम सम्पन्न गर्ने पछिल्लो लक्ष्य निर्धारण गरेको छ । आयोजनाको अहिलेसम्मको जम्मा खर्च ४३ अर्व रुपैयाँ रहेको छ ।
आयोजनाको लट १ अन्तर्गत सिभिल कार्य, लट २ अन्तर्गत हाइड्रोमेकानिकल कार्य, लट ३ अन्तर्गत मेकानिकल र इलेक्ट्रिकल कार्य र लट ३ अन्तर्गत प्रसारण लाइन तथा सवस्टेसनको कार्य पर्दछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।