नगरस्तरीय राष्ट्रपति कप सुरु, उद्घाटन खेलमा क्षमावती विजयी

 शम्भु गौतम     ७ माघ २०७५, सोमबार

दोलखा, माघ ७

भीमेश्वर नगरपालिकाले आफ्नो २३ औँ स्थापना दिवसको अवसरमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतिायोगिता आयोजना गरेको छ । रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन संघीय सांसद् पार्वत गुरुङले गरेका छन् ।
भीमेश्वर नगरपालिकाभित्रका १५ विद्यालयको सहभागिता रहेको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन संघीय सभासद पार्वत गुरुङले भलिबलको सर्भिस गर्दै गरेका हुन् । उक्त उद्घाटन खेलमा भीम मावि दोलखालाई क्षमावती मावि, सुस्पाक्षमावतीले पराजित गरेको छ । क्षमावती माविले भीम माविलाई २५–२३, १५–२५ र २०–२५ को सेटमा पराजित गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा भलिबलका अतिरिक्त, १०० मी., २०० मी., ४०० मी., ८०० मी.दौड र रिले दौडका खेलहरु रहेका छन् । त्यसैगरी हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, उसु र कराते खेलहरु रहेका छन् ।
प्रतियोगिता यही माघ ११ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन समारोह भीमेश्वर नगर खेलकुद समितिका अध्यक्ष हरिवंश चौलागाईँको अध्यक्षतामा भएको हो भने जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, भीमेश्वर नगर शिक्षा प्रमुख अर्जुन कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।