फिल्म सिटी दोलखामै बन्ने मुख्यमन्त्रीको ठोकुवा

 शम्भु गौतम     ११ माघ २०७५, शुक्रबार

दोलखा, माघ ११

प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले बहुचर्चित फिल्म सिटी दोलखमै बन्ने ठोकुवा गरेका छन् । भीमेश्वर नगरपालिकाको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले दोलखामा बन्ने भनिएको फिल्म सिटी दोलखामै बन्ने विश्वास दिलाएका हुन् ।
भीमेश्वर नगरपालिका ९ को डाँङडुङे डाँडामा निर्माण गर्ने भनिएको फिल्म सिटी विभिन्न समयका सत्तारुढ दलका नेताहरुको तानातानका कारण अन्योलमा थियो । मुख्यमन्त्री पौडेलले पर्यटकीय महत्वको दोलखामा फिल्म सिटी जसरी पनि निर्माण हुन्छ भन्ने उद्घोष गरेपछि पुनः यसले चर्चा पाएको छ । उनले काठमाडौँ, पोखरा, चितवनपछिको चौथो गन्तव्य दोलखा भएको र दोलखामा निर्माण हुने भनिएको फिल्म सिटी जसरी पनि दोलखामै निर्माण हुने बताए । उनले भने, ‘यतिका वर्षसम्म फिल्म सिटीको काम कहाँ रोकियो ? प्रदेशमा आउनूस्, फिल्म सिटी बन्छ ।’
मुख्यमन्त्री पौडेलले पालिकाहरुलाई सानातिना योजना नल्याउन आग्रह गरेका छन् । उनले अबदेखि प्रदेश सरकारले योजनाको बैक बनाउने र योजनाहरुलाई बैंकभित्र हाल्ने, त्यही बैंकबाट योजना थुतेर विकास कार्य गर्ने उनले बताए ।
पालिका प्रमुखहरुलाई मुख्यमन्त्री पौडेलले भ्रष्टाचारबाट मुक्त रहन आग्रह गरेका छन् । उनले भने, ‘हामीले गरेको कामका कारण लोकतन्त्रलाई कुनै अप्ठेरो प¥यो भने त्यो सबैभन्दा दुःखद कुरो हुनेछ । तपाईँको नगरपालिकामा, गाउँपालिकामा भ्रष्टाचारको गन्ध आयो भने त्यो सबैभन्दा दुःखद हुनेछ ।’
“विकास र समृद्धिको लागि उत्पादन मुख्य कुरा हो त्यसैले आर्थिक उन्नतिको लागि कृषि उत्पादन र पर्यटकीय केन्द्रको पहिचान तथा विकास र प्रवद्धनलाई संगसंगै अगाडि बढाउनु पर्छ ।“ उनले भने ।
कार्यक्रमका सभापति भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले भीमेश्वर नगरपालिकालाई समुन्नत नगर बनाउन शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन विकासमा योजनावद्ध ढंगले काम सुरु गरिएको उल्लेख गर्दै दोलखालाई नेपालको एक नम्बर पर्यटकीय गन्तव्य बनाउने गरी नगरपालिकाले काम गरिरहेको बताए ।
२३ औँ स्थापना दिवस कार्यक्रममा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, प्रतिनिधिसभा सदस्यहरु पार्वत गुरुङ र शान्ति पाख्रीन, प्रदेश ३ का मुख्य सचेतक रामेश्वर फुयाल, प्रदेश सांसद विशाल खड्का, नेकपा नेता काशिनाथ अधिकारी, प्रदेश ३ का मुख्य मन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, जिरी नगरपालिकाका प्रमुख टंक जिरेल, तामाकोसी गाँउपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरेल, नेकपा दोलखाका नेता कुमार लगुन, नेपाली कांग्रेस दोलखाका नेता केशव चौलागाई, राप्रपा दोलखाका अधयक्ष नवराज श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामकृष्ण उप्रेतीले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ र उत्कृष्ठ कार्यसम्पादन गर्ने भीमेश्वर नगरपालिकाको कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

के छ फिल्म सिटीको अवस्था ?

डाँङडुङे डाँडामा निर्माण गर्न लागिएको चलचित्र नगरीका लागि लाकुरीडाँडा गाविसको सेतीदेवी दादर सामुदायिक वनले ७६.२५ हेक्टर जमिनको भोगाधिकार प्रदान गरिसकेको छ । मन्त्रिपरिषद्को स्वीकृति लगत्तै २०७३ चैत १५ गते वन विभाग र चलचित्र विकास बोर्डबीच सम्झौता भएको उक्त क्षेत्रमा हाल सडक, विद्युत, खानेपानी लगाएतको पूर्वाधार तयार भइरहेको र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत अन्तिम चरणमा पुगेको छ । राजधानीदेखि ११० किलोमिटरको दुरीमा रहेको, जुगल र गौरीशंकर हिमाल देखिने उक्त क्षेत्रमा फिल्म सिटी हुने भएपछि केन्द्रका फिल्मकर्मी पनि उत्तिकै खुसी थिए । समुद्र सतहदेखि ३३ सय मिटर उचाइमा रहेको उक्त क्षेत्रमा फिल्म सिटी बनेमा त्यो संसारकै उचाइमा अवस्थित हुने कुराले दोलखावासी समेत दंग थिए । तर नेपाल सरकारकै विभागीय मन्त्रीद्वारा शिलान्यास गरी फिल्म सिटी निर्माणले गति लिईरहेको बेला वर्तमान सरकारले वजेटसम्म विनियोजन नगरी बेहाल अवस्थामा छाडेका छन् । सामाजिक तथा प्राविधिक रुपमा उपयुक्त एवं हावापानीको पनि अति उपयुक्त रहेको स्थानमा फिल्म सिटी बनेमा दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्क, भक्तपुर, ललितपुर मात्रै नभई राजधानी काठमाडौंकै आर्थिक गतिविधि सुदृढ हुने देखिन्छ । प्रदेश ३ मुख्यमन्त्रीको उद्घोषपछि फिल्म सिटीका अभियन्ता एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठ पनि उत्साही भएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।