कारागारभित्रै आत्महत्या

 शम्भु गौतम     १६ माघ २०७५, बुधबार

दोलखा, माघ १६

श्रीमतीको हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका एक युवकले कारागारभित्रै आत्महत्या गरेका छन् । मंगलवार राति कारागारको शौचालयको झ्यालमा आफ्नै जुत्ताको लेसको पासो लगाई उनले आत्महत्या गरेको दोलखा प्रहरीले जानकारी दिएको छ ।
कालिन्चोक गाउँपालिका ५ लापिलाङ घर भएका २४ वर्षीय च्याङा शेर्पाले गए राति आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।
च्याङाकी श्रीमती लक्की भनिने सर्किनी शेर्पा गत पुस १६ गते चरिघ्याङस्थित आफ्नै कोठामा झुण्डिएर मृत अवस्थामा भेटिएपछि सर्किनीको हत्या अभियोगमा उनका पति च्याङालाई पुस २० गते प्रहरीले पक्राउ गरेको थियो । हत्या अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालत दोलखाले हिजै पुर्पक्षका लागि थुनामा पठाएको थियो । अदालतले थुनामा पठाएकै राति उनले कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् । मध्यराति शेर्पा शौचालय गएको र लामो समयसम्म नफर्किए पछि खोजतलास गर्दा साँढे १२ बजे शेर्पालाई शौचालयको झँयालमा झुण्डिएर मृत अवस्थामा फेला पारिएको प्रहरी प्रमुख पाठकले जानकारी दिएका हुन् ।
च्याङाको शवलाई पोष्टमार्टमको लागि प्राथमिक स्वाथ्य केन्द्रको शवगृहमा राखिएको छ । आफन्त आइनपुगेको भन्दै परिवारले आज शव बुझ्न नमानेको प्रहरीले जानकारी दिएको छ ।
मृतक शेर्पाका ६ महिना र २ वर्षका दुई छोरीहरु छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।