पाखर कपको उपाधि दोलखालाई

 शम्भु गौतम     २२ माघ २०७५, मंगलवार

दोलखा, माघ २२

सिन्धुपाल्चोक जिल्लाको पाखरमा सञ्चालित दोस्रो पाखर कप फुटबल प्रतियोगिताको उपाधि दोलखा जिल्ला फुटबल संघले आफ्नो पोल्टामा पारेको छ ।
आज अपरान्ह पाखरमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नगरकोटस्थित तटस्थ क्लबलाई २–१ गोलको अन्तरले स्तव्ध पार्दै दोलखा जिल्ला फुटबल संघले कप उचालेको हो ।
तटस्थ क्लबका लागि २७ औँ मिनेटमा पहिलो गोल गर्दै जर्सी नं ११ का अनिल केसीले आफ्नो टिमलाई अग्रता दिलाए पनि यो अग्रता लामो समय टिक्न सकेन । त्यसको ७ मिनेटपछि नै दोलखाको लागि अशोक तामाङले एक गोेल गर्दै खेललाई बराबरीमा ल्याइदिए । पहिलो हाफमा यसरी बराबरी खेलेको दोलखाले दोस्रो हाफको ८३ औँ मिनेटमा एक गोल गर्दै टिमको जित सुनिश्चित गराएका थियो । दोलखाका लागि जर्सी नं ८ का उद्धव खत्रीले विजयी गोल गरेका हुन् ।
आजको खेलका म्यान अफ दी म्याच दोलखा जिल्ला फुटबल संघका मिलन तामाङ भएका थिए । दोलखाली टिमले निकै नै उत्कृष्ठ खेल प्रदर्शन गरेको दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले बताए । प्रतियोगितामा विभिन्न ५ जिल्लाका १५ टिम सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले विजयी टिमलाई कप, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । विजयी टिमको तर्फबाट प्रहरी नायव उपरीक्षकद्वय वासुदेव पाठक र किरणकुमार कठायतले पाखर कप उचालेका थिए । पाठक जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख हुन् भने कठायत सशस्त्र प्रहरी बल, चरिकोट गुल्म प्रमुख हुन् ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद २ लाख २२ हजार २२२ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो हुने टिमले नगद १ लाख ११ हजार १११ रुपैयाँ, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिता सिन्धुपाल्चोक जिल्लाको ठुलोपाखरस्थित युनाइटेड ठुलोपाखर क्लबले आयोजना गरेको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।