‘पाखर कप’का विजेतालाई अभिनन्दन

 शम्भु गौतम     २३ माघ २०७५, बुधबार

दोलखा, माघ २३

सिन्धुपाल्चोक जिल्लाको पाखरमा सम्पन्न दोस्रो पाखर कप फुटबल प्रतियोगिताको विजेता खेलाडीहरुलाई जिल्लामा अभिनन्दन गरिएको छ ।
विजयी खेलाडी बधाइ तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि कालिन्चोक माविका प्रधानाध्यापक नवराज न्यौपानेले खेलाडीहरुलाई खादा लगाएर सम्मान गरेका हुन् । खेलाडीहरुलाई सम्मान गर्दै प्रमुख अतिथि न्यौपानेले खेलाडीहरुको सम्मानले पनि खेल क्षेत्रको विकासमा सघाउ पुग्ने बताए । कार्यक्रममा टिम कोच तथा खेलाडीहरुलाई नगद ५ हजार रुपैयाँसमेत प्रदान गरिएको थियो ।
कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्केले अनुशासन खेलाडीको गहना भएको उल्लेख गर्दै अनुशासित खेलाडी विजयी हुने र सम्मानित हुने कुरा यो जितले पुष्टि भएको बताए ।
यसअघि खेलाडीहरु सिन्धुपाल्चोक जिल्लाको पाखरबाट दोलखा सदरमुकाम आउने वित्तिकै दोलखा जिल्ला फुटबल संघ, स्थानीय विद्यालयका विद्यार्थीहरु र स्थानीयहरुले बाजासहित स्वागत गरेका थिए । उनीहरुलाई बाजासहित बजार परिक्रमा गराउँदै अभिनन्दन गरिएको थियो ।
हिजो सम्पन्न फाइनल खेलमा दोलखा जिल्ला फुटबल संघको टिमले तटस्थ क्लबन नगरकोटलाई १ गोलका विरुद्ध २ गोलले पराजित गर्दै पाखर कपको उपाधि कव्जा गरेको थियो । युनाइटेड ठुलोपाखर क्लबले आयोजना गरेको सो कपको उपाधिसँगै टिमले नगद २ लाख २२ हजार २२२ रुपैयाँ, मेडल तथा प्रमाणपत्र पाएको थियो । दोलखा जिल्ला फुटबल संघले अहिलेसम्म जितेको यो पहिलो उपाधि हो ।
दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा दोलखा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष बाबुकाजी बस्नेतले पनि सम्मान तथा शुभकामना प्रदान गरेका थिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।