चालक र सवारी साधनको सडकमै परीक्षण

 शम्भु गौतम     २४ माघ २०७५, बिहीबार

दोलखा, माघ २४

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित यात्राको प्रत्याभूति दिनका लागि दोलखामा पहिलोपट सवारी साधन र चालकको एकैचोटि स्वास्थ्य चाँज गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दोलखामा पहिलोपटक सवारीसाधनको चेकजाँचसंँगै चालकहरूको स्वस्थ्य परीक्षण गरिएको हो । सुरक्षित यात्राकासाथै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सदरमुकाम चरिकोटस्थित सातदोबाटो प्रहरी चौकीमा बिहिबार एक दिने सवारीसाधनको यान्त्रिक चेकजाँच र चालकको स्वस्थ्य परीक्षण गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय र जिल्ला प्रहरी कार्यलय दोलखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा एक सय पचासवटा सवारीसाधनहरुको यान्त्रिक जाँच र ती सवारीसाधनका चालकहरूको स्वास्थ परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक चन्द्रमान तामाङले जानकारी दिए । उनका अनुसार सवारीसाधनहरुको गिएर, ब्रेक, क्लज, एक्सिलेटरका साथै इन्जिनको अवस्था जाँच गरिएको थियो त्यसैगरी चालकको ब्लडप्रेसर, मुटुको अवस्था र आँखाको परीक्षण गरिएको ट्राफिक प्रहरी प्रमुख तामाङले जानकारी दिए ।
भीमेश्वर नगरपालिका, प्राथमिक स्वास्थ्य केन्द्र, लायन्स आँखा केन्द्र र सिप्रदी ट्रेडिङको साझेदारीमा भएको कार्यक्रममा मेडिकल अधिकृत अरुण उप्रेती र नेत्र सहायक विप्लव खड्काले आँखा तथा स्वस्थ्य परीक्षण गरेका थिए । त्यस्तै सिप्रदी ट्रेडिङका सर्भिस इन्जिनियर उमेश खत्रीले सवारी साधनहरुको चेकजाँच गर्नुभएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।