जनकपुर र भैरहवा रुटबाट हवाईजहाज आगमन र प्रस्थान दुवै गर्ने

 अावाज स‌‌वाददाता     १३ फाल्गुन २०७५, सोमबार

अहिलेसम्म जनकपुर र भैरहवा बिन्दु हुँदै जहाज नेपालबाट बाहिरिन मात्र पाउँथे । अब जनकपुर र भैरहवाबाट हवाईजहाज आवागमन र प्रस्थान दुवै गर्न सकिने प्रवेश बिन्दु कार्यान्वयन प्रक्रिया सुरु भएको छ । नेपाल र भारत दुवै देशका उड्डयन प्राधिकरणले संयुक्त रूपमा अन्तरदेशीय हवाई प्रवेश बिन्दु कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)समक्ष आवेदन दिएका हुन् । नेपालले भारतसँग नेपालगन्ज र महेन्द्रनगर रूट पनि मागेको थियो । तर, हाललाई भैरहवा र जनकपुर रूटमा सहमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।

‘आइकाओले अध्ययन गरेपछि उडान कार्यविधिसहितको क्याटलग निकाल्छ । त्यसपछि मात्र रूट स्थापित हुन्छ,’ उनले भने । भैरहवा रूटबाट विमानले प्रवेश विन्दु पाएपछि नयाँदिल्ली तथा पश्चिमी क्षेत्रबाट आउने विमानलाई सिमराको तुलनामा सहज र छोटो पर्ने गौतमले बताए । यसबाट पोखरा विमानस्थललाई पनि धेरै सहज हुने उनले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।