कालिन्चोक कुरीका होटलहरुले राख्न थाले मूल्यसूचि

 शम्भु गौतम     १३ फाल्गुन २०७५, सोमबार

दोलखा, माघ १२

दोलखाको पर्यटकीय कालिन्चोक क्षेत्रको कुरीमा सञ्चालित होटलहरुमा जथाभावी र चर्को मूल्य लिँदा पर्यटकहरु ठगिएको चर्चा चलिरहेका बेला त्यहाँका होटलहरुले मूल्य सूचि राख्न थालेका छन् ।
स्थानीय प्रशासनले कुरीका होटलहरुमा अनुगमन गर्दा १० वटा होटलहरुले मूल्यसूचि राखेको पाइएको जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । कुरीमा रहेका ४० वटा होटलहरुमध्ये २० वटा होटलहरुले मूल्यसूचि राख्ने तयारी गरिरहेको बताएका छन् । उनीहरुले एक साताभित्र मूल्यसूचि राखीसक्ने पनि बताए । यसअघि स्थानीय प्रशासनले त्यहाँका होटलहरुमा अनुगमन गरी मूल्यसूचि राख्न निर्देश गरेको थियो ।
पछिल्लो समय कालिन्चोकमा आन्तरिक पर्यटकहरुको निकै घुइँचो लागिरहेको छ । यसैको मौका छोपी कुरीका होटलहरुले आफूखुशी र मनलागी चर्को मूल्य लिएको पर्यटकहरुले बताउँदै आएका छन् । कुरीमा होटल व्यवसाय गर्दैआएका नवराज पाख्रिनले काठमाडौँबाट ट्राभल एजेन्सीहरुले पैसा लिएर प्याकेजमा पर्यटकहरुलाई पठाउने गरेकोले उनीहरुलाई महँगोजस्तो लागेको बताउँछन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले केही होटलहरुले मूल्यसूचि राखिसकेको र केहीले राख्ने तरखरमा रहेको बताए । उनले मूल्यसूचि नराख्ने होटलहरुलाई प्रशासनले कारबाही गर्ने र पर्यटकहरुले समेत त्यस्ता होटलहरु बेवास्ता गर्न थालेपछि बाध्य भएर मूल्यसूचि राखिने विश्वास व्यक्त गरे । त्यहाँका सबै होटलहरु सार्वजनिक स्थलमा बनेका हुन् । कुरीको जग्गा गुठी, सामुदायिक वन, गौरीशंकर संरक्षण क्षेत्र वा स्थानीय निकाय मध्ये कस्को हो भन्ने अझै विवादमा रहेको छ । यसले गर्दा त्यहाँका होटलहरुलाई नियमन गर्न स्थानीय प्रशासनलाई दुविधा भएको छ ।
पछिल्लो समय कालिन्चोक मन्दिर खुल्ने समयसीमा तोकिएकोमा तीव्र विरोध हुन थालेको छ । स्थानीय समिति र पूजारीको तर्फबाट सूचना टाँस गरी बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म मन्दिरको ढोका बन्द हुने सूचना टाँसिएको थियो । भक्तजनको गुनासोलाई ध्यानमा राखी प्रमुख जिल्ला अधिकारीसहितको स्थानीय प्रशासनको टोलीले सूचना हटाएपछि केही स्थानीय युवाहरु आक्रोसित भएका थिए ।
कालिन्चोक भगवतीको दर्शन गर्न सल्यानबाट आएका प्रकाश भण्डारी मन्दिर खुल्ने समयसीमा तोक्नु नहुने धारणा राख्छन् । ‘त्यति टाढाबाट भगवतीको दर्शन गर्न आएका छौँ ।’ भण्डारीले भने, ‘बेलुका दर्शन गरेर फर्कन चाहने भक्तजनहरुलाई जवर्जस्ती रोक्नु अन्याय हुन्छ ।’ यस्ता सूचनाले पर्यटकहरुमा नकारात्मक सन्देश जाने उनको बुझाइ छ ।
कालिन्चोकबाट देखिने दृश्यबाट आफू मन्त्रमुग्ध भएको बताउने धादिङकी मीरा अधिकारीले पनि मन्दिर सधैँभरि खुला राख्दा राम्रो हुने बताइन् । व्यवस्थापन गर्न सके आस्था र सौन्दर्यका कारण कालिन्चोकमा नेपाललाई नै पाल्न सक्ने गरी पर्यटन विकास गर्न सकिने सम्भावना रहेको उनको धारणा छ ।
दोलखा सदरमुकामबाट १८ किमी उत्तरमा रहेको कुरीबाट केबलकारमार्फत कालिन्चोक पुग्न सकिन्छ । कालिन्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको ९५० मिटर लामो केबलबारको यात्रा र त्यसपछि करिब १० मिनेटको हिडाइपछि मन्दिर पुग्न सकिन्छ ।
३८४२ मिटरमा रहेको मन्दिरबाट वरपर रोल्वालिङ, जुगल हिमश्रृङ्खलाको साथै लाङटाङ, गणेश तथा अन्नपूर्ण श्रृङ्खलासमेत देख्न सकिन्छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।