सेना दिवसको अवसरमा चरिकोट बजार सरसफाइ

 शम्भु गौतम     १८ फाल्गुन २०७५, शनिबार

दोलखा, फागुन १८

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा रणभीम गण चरिकोटको आयोजनामा दोलखा सदरमुकाम चरिकोट बजार सरसफाइ गरिएको छ ।
साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सेना दिवस मनाउने क्रममा आज विहान बजार सरसफाइ गरिएको हो । रणभीम गण चरिकोटले आयोजना गरेको सरसफाइ कार्यक्रममा दोलखा प्रहरी, सशस्त्र प्रहरी चरिकोट गुल्म, त्रिपुरा ग्लोरियस एकेडेमीको स्काउट टोलीले पनि सघाएका थिए । सरसफाइ कार्यक्रमको सुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले गरेका थिए ।
यसैगरी सेनाले हिजो चरिकोटस्थित पशुपति मन्दिरको सरसफाइ गरेको थियो भने भोलि आइतवार गौरीशंकर बालगृह क्षेत्रको सरसफाइ तथा बालगृहका विद्यार्थीहरुलाई खाद्यान्न वितरणको कार्यक्रम रहेको रणभीम गणका गणपति विदुर अधिकारीले जानकारी दिए । त्यसैगरी भालि नै सदरमुकामका विद्यालयहरुमा नेपाली सेनासम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।
महाशिवरात्रि तथा सेना दिवसको दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ भने कोटीहोम यज्ञशाला तथा महाङ्काल भगवती मन्दिर सरसफाइको कार्यक्रम समेत रहेको रणभीम गण स्रोतले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।