६ महीनामा डेढ अर्बको ऊनी फेल्ट निर्यात

 अावाज स‌‌वाददाता     १९ फाल्गुन २०७५, आईतवार

काठमाडौं । आर्थिक वर्ष (आव) २०७५/७६ को ६ महीनामा गत आवको सोही अवधिको तुलनामा ऊनी फेल्टका सामग्रीको निर्यात ९ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा १ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएका थिए, जुन कुल निर्यातको २ दशमलव १ प्रतिशत अंश हो ।

गत आव २०७४/७५ को सोही अवधिमा ८७ करोड १२ लाख रुपैयाँ बराबरका ऊनी फेल्टका सामग्री निर्यात भएका थिए । आव २०७०/७१ सम्म यस्ता सामग्रीको अंश कुल निर्यातको १ दशमलव ९ प्रतिशत मात्र थियो । पछिल्लो समय ऊनी फेल्टका सामग्रीको निर्यातमा उल्लेख्य सुधार देखिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बताएको छ । आव २०७३/७४ को तुलनामा २०७४/७५ मा ११ दशमलव २ प्रतिशतले यस्ता सामानको निर्यात बढेको थियो ।

ऊनी फेल्टका सामानको मुख्य बजार अमेरिका हो । केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाका अनुसार नेपालबाट निर्यात हुने ऊनी फेल्टमध्ये दुई तिहाइ अंश अमेरिका जाने गरेको छ । त्यसबाहेक, जर्मनी, क्यानाडा, बेलायत, स्वीट्जरल्यान्ड, फ्रान्स र जापानमा यस्ता सामान निर्यात हुन्छन् । ‘विश्व बजारमा यस्ता सामग्रीको माग राम्रो छ,’ राणाले भने, ‘सरकारी नीतिनियम प्रभावकारी नहुँदा उत्पादन तथा निर्यातमा समस्या देखिने गरेको छ ।’

नेपाल ऊनी फेल्ट तथा निर्यात संघका अध्यक्ष विक्रम थापाका अनुसार हाल करीब २० हजार महिलाले यस्ता उद्योगमा रोजगारी पाएका छन् । ‘यस क्षेत्रमा दक्ष कामदारको अभाव छ,’ उनले भने ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।