मेयरकप क्रिकेटको उपाधि कालिन्चोकलाई

 शम्भु गौतम     २१ फाल्गुन २०७५, मंगलवार

दोलखा, फागुन २१

भीमेश्वर नगरपालिकाले आयोजना प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि कालिन्चोक माविले जितेको छ ।
आज भएको फाइनल खेलमा अल्पाइन पब्लिक स्कुललाई ९५ रनले पछाडि पार्दै कालिन्चोक माविले उपाधिमाथि कव्जा जमाएको हो ।
टस जितेर व्याटिङमा उत्रिएको कालिन्चोक माविले १४ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन जोड्न सफल भएको थियो । कालिन्चोकका लागि देवकुमार थामीले सर्वाधिक ४३ रनको योगदान दिएका थिए ।
त्यसैगरी १३० रनको लक्ष्य पाएको अल्पाइनले ७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ३४ रन मात्रै जोड्न सक्यो । अल्पाइनका लागि सुजन लामाले सर्वाधिक १० रन जोड्न सफल भएका थिए ।
अल्पाइनका असिम उप्रेती र सिमान्त कार्कीले ३/३ विकेट लिएका थिए भने कालिन्चोकका सुजन श्रेष्ठले पनि ३ विकेट लिएको थिए ।
कालिन्चोक माविका देवकुमार थामीले ‘म्यान अफ दी टुर्नामेन्ट’ को उपाधि पाएका छन् । उनले राइजिङ स्टार स्कुलसँगको सेमीफाइनल खेलमा प्रतियोगिताकै सर्वाधिक १०७ रन बनाएका थिए ।
विजयी खेलाडी तथा टिमलाई भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, उपप्रमुख कमला बस्नेत र कालिन्चोक माविका प्रधानाध्यापक नवराज न्यौपानेले पुरस्कार, प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरेका थिए ।
पहिलो हुने टिमले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुने टिमले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा विभिन्न ७ विद्यालयको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता दोलखा क्रिकेट संघका अध्यक्ष सन्तोष पोखरेलले गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।