पर्यटकसँगै कालिन्चोकमा बढेको फोहोर नेपाली सेनाले गर्यो सफाइ

 शम्भु गौतम     २५ फाल्गुन २०७५, शनिबार

दोलखा, फागुन २५

पछिल्लो समय दोलखाको कालिन्चोक भगवती मन्दिर पुग्ने पर्यटकको संख्या बढेसँगै सो क्षेत्रमा अत्यधिक फोहोर थुप्रिएपछि नेपाली सेनाले कालिन्चोक क्षेत्र सरसफाइ गरेको छ ।
साताव्यापी रुपमा सेना दिवस मनाउने क्रममा नेपाली सेनाको रणभीम गणले आज कालिन्चोक क्षेत्रको सरसफाइ गरेको हो । सरसफाइको सुरुवात दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, रणभीम गणका गणपति प्रमुख सेनानी विदुर अधिकारी, सशस्त्र प्रहरी चरिकोट गुल्मपति प्रहरी नायव उपरीक्षक किरणकुमार कठायतले गरेका थिए ।
कालिन्चोक मन्दिर परिसरबाट आज मात्रै नेपाली सेनाले ५० बोरा बढी फोहोर संकलन गरेको छ । संकलित फोहोरलाई सोही क्षेत्रमा ‘डिस्पोज’ समेत गरिएको प्रमुख सेनानी विदुर अधिकारीेले जानकारी दिए । फोहोर संकलन गर्ने काममा नेपाली सेनालाई सशस्त्र प्रहरी, चरिकोट गुल्म तथा स्थानीयले समेत सहयोग गरेका थिए ।
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मन्दिर जाने बाटोमुनि फालिएको फोहोर डोरीको सहायताले झुण्डिएर संकलन गरेको थियो ।
कालिन्चोक क्षेत्रमा यो वर्षको हिमपातसँगै त्यहाँ निक्के पर्यटकहरु पुग्ने गरेका छन् । पर्यटकहरु अत्यधिक मात्रामा जाने भएपछि उनीहरुले फालेका पानीका बोतल, इनर्जी ड्रिङ्कका बोतल लगायतले कुरी तथा कालिन्चोक मन्दिर क्षेत्र फोहोर र कुरुप बनेको छ । सो क्षेत्रमा अत्यधिक फोहोर थुप्रिएपछि सेना दिवसको अवसर पारेर अभियानको रुपमा मन्दिर क्षेत्र सरसफाइ गरिएको गणपति अधिकारीले जानकारी दिए ।
सेना दिवसकै अवसरमा यसअघि नेपाली सेनाले सदरमुकाम चरिकोट बजार, महाङ्काल मन्दिर, कोटिहोम यज्ञशाला, गौरीशंकर अनाथालयको सरसफाइ गर्नुको साथै अनाथालयका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरेको थियो । यसैगरी दोलखा जिल्ला रेडक्रससँगको समन्वयमा रक्तदान कार्यक्रम समेत गरेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।