उपमेयरकप महिला भलिबल : क्वार्टरफाइनल खेल सम्पन्न

 शम्भु गौतम     २८ फाल्गुन २०७५, मंगलवार

दोलखा, फागुन २८

भीमेश्वर नगरपालिकाले आयोजना गरेको प्रथम महिला कप भलिबल प्रतियोगिता आजदेखि दोलखा सदरमुकाम चरिकोटमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेशसभा सांसद् सरस्वती बस्नेतले गरेकी छन् ।
पालिकास्तरीय प्रथम भीमेश्वर उपमेयर कप महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनल खेल आजै सम्पन्न भएको छ ।
आज भएको उद्घाटन खेलमा भीमेश्वर नगरपालिका ए ले गौरीशंकर गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ भने जिरी नगरपालिकाले गौरीशंकर क्याम्पसलाई सोझो सेटमा पराजित गरेको छ । त्यसैगरी आजै भएको अर्को खेलमा कालिन्चोक गाउँपालिकाले गौरीशंकर गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ भने जिरी नगरपालिकाले भीमेश्वर नगरपालिका बी लाई पराजित गरेको छ । त्यस्तै अर्को खेलमा कालिन्चोक गाउँपालिकाले भीमेश्वर नगरपालिका ए लाई पराजित गरेको छ भने आज भएको अन्तिम खेलमा भीमेश्वर नगरपालिका बीले गौरीशंकर क्याम्पसलाई पराजित गरेका छ ।
प्रतियोगिताको सेमीफाइनल खेल भोलि हुने भएको छ । भोलि जिरी नगरपालिका र भीमेश्वर नगरपालिका बी बिच पहिलो खेल सेमीफाइनल हुने छ भने कालिन्चोक गाउँपालिका र भीमेश्वर नगरपालिका ए बिच हुनेछ ।
पालिकास्तरीय प्रतियोगितामा जिल्लाका ६ वटा टिम सहभागी छन् । त्यसमध्ये भीमेश्वर नगरपालिकाका मात्रै ३ टिम छन् ।
प्रतियोगितामा पहिलो हुने टिमले ३० हजार, दोस्रो हुने टिमले २० हजार, तेस्रो हुने टिमले १० हजार सहित मेडल, शिल्ड तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको फाइनल खेल फागुन ३० गते हुने सहआयोजक ग्रिन नेपालले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।