अख्तियारको चासो लामोसाँघु–चरिकोट सडकमा

 शम्भु गौतम     २८ फाल्गुन २०७५, मंगलवार

दोलखा, फागुन २८

निर्धारित समयमा निर्माण हुन नसकेको लामोसाँघु–चरिकोट सडकमा अख्तियारले चासो दिएको छ ।
२ वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने सडक हालसम्म पनि अलपत्र अवस्थामा देखिएपछि अख्तियारले त्यसमा चासो देखाएको हो ।
दोलखा सदरमुकाम चरिकोटमा आयोजित भ्रष्टाचार र सुशासन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अख्तियार दुरुपोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेले खाडीचौर चरिकोट सडक विस्तारको काममा भएको ढिलाइबारे अनुसन्धान भैरहेको बताए । उनले भने, ‘म दुई वर्षअघि आउँदा पनि यो सडक अलपत्र थियो, अहिले पनि केही सुधार बाहेक केही प्रगति देखिएन ।’ उनले अगाडि थपे, ‘२ वर्षको अवधिसम्म पनि काम नहुँदा सडक विभागलाई समेत यसको प्रक्रियाको बारेमा जानकारी दिएर अहिले स्थलगत अध्ययन थालेका छौँ ।’
दोलखाका ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृृत, लेखा शाखा प्रमुख, वडा अध्यक्षहरु, जिल्लास्तरीय कार्यालय प्रमुख, गैससका प्रतिनिधिहरु सहभागी गराएर अख्तियारले अन्तक्र्रिया गरेको हो । अन्तक्र्रिया कार्यक्रममा अख्तियारका सहसचिव प्रदीपकुमार कोइराला र हेटौँडा कार्यालय प्रमुख हुमकला पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा भ्रष्टाचारका रुपहरु भ्रष्टाचारका सम्बन्ध कसुर र सजाय, कानुनी समाधान आदिका बारेमा जानकारी गराइएको थियो । उनीहरुले नेपाल विश्वमै भ्रष्ट मुलुकको सुचीमा सूचीकृत हुनु नराम्रो अवस्था भएको उल्लेख गर्दै आयोगले भ्रष्टाचारमा दण्ड र सजाय मात्रै नभई प्रबद्र्धनात्मक र निरोधात्मक रणनीति सञ्चालन गरेको जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, तामाकोशी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।