राप्रपाले तोक्यो बुद्धिमान तामाङलाई कमाण्डर

 राजन शिवाकोटी     १५ चैत्र २०७५, शुक्रबार

काठमाडौं २०७५ चैत १५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनसंघर्षको लागि पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कमाण्डर तोकेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेता दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिबमा पार्टीका महामन्त्री भास्कर भद्रा रहेको जनाईएको छ ।
आज गठन गरिएको जनसंघर्ष परिचालन समितिको सदस्यहरुमा पार्र्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिको अध्यक्ष, विभागीय प्रमुखहरु, भातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्षहरु रहेका छन् ।
आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा राप्रपा अध्यक्ष कमल थापाले जनसंघर्षका कार्यक्रमलाई सफल बनाउन पार्र्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिएका छन् ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई स्थिरता तर्फ लैजान नसकेको चर्चा गर्दै अध्यक्ष थापाले संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरि पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न, राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न आवश्यक रहेको वताएका थिए । सरकारले यी मागहरु अबिलम्ब सम्बोधन गरी मुलुकलाई सही दिशा तर्फ लैजानु पर्नेमा अध्यक्ष थापाले जोड दिएका छन् ।
राप्रपाले हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि चरणबद्ध आन्दोलनको घोषणा यसअघि नै गरिसकेको छ । जस अनुसार चैत्र १२ देखि १६ गतेसम्म प्रचारप्रसार, चैत्र १७ देखि २३ गतेसम्म हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान, चैत्र २५ गते केन्द्रमा सिंहदरबार अगाडि, प्रदेशमा प्रदेश राजधानीमा र जिल्लामा जिल्ला सदरमुकामहरुमा १ घण्टे धर्ना, चैत्र २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, बैसाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्षताको व्यानर÷प्लेकार्ड जलाउने तथा बैसाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहका कार्यक्रमहरु रहेका छन् ।
नवगठित समितिका संयोजक बद्धिमान तामाङले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण तथा समृद्ध नेपाल निर्माणको निमित्त राजनैतिक दलहरुले दलिय स्वार्थभन्दा माथि उठेर लाग्नु पर्ने बताएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।