शिविरमा करिब ४ सयको स्वास्थ्य परीक्षण

 शम्भु गौतम     २३ चैत्र २०७५, शनिबार

दोलखा, चैत २३

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका १ जुँगुमा सञ्चालित स्वास्थ्य शिविरमा झण्डै ४ सय जनाले स्वास्थोपचार गराएका छन् ।
रणभीम गण चरिकोटको आयोजना तथा गौरीशंकर गाउँपालिकाको सहकार्यमा सञ्चालित एक दिने सैनिक स्वास्थ्य शिविरमा ३ सय ८५ जनाले स्वास्थ्य उपचार गराएका हुन् ।
शिविरमा जनरल ओपीडी, स्त्रीरोग, आँखा र दाँत सम्बन्धी रोगको उपचार गरिएको रणभीम गणका सेनानी अमरराज कट्टेलले जानकरी दिए ।
उपचारमा आएकाहरुमध्ये धेरैमा आँखाको समस्या देखिएको थियो । ३८५ जनाले स्वास्थ्य जाँच गर्न आएकोमा १८० जनाले आँखाको जाँच गराए थिए । तीमध्ये १४ प्रतिशतमा मोतीविन्दुको समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए ।
त्यसैगरी स्वास्थोपचारका लागि आउनेहरुमध्ये स्त्रीरोगको समस्या पनि धेरैमा देखिएको थियो । शिविरमा १५० भन्दा बढीको स्त्रीरोग सम्बन्धी उपचार गरिएको डा. क्षमता घिमिरेले जानकारी दिइन् । तीमध्ये करिब १० प्रतिशतमा पाठेघर खस्ने समस्या देखिएको र अन्य १० प्रतिशतमा पाठेघरको मुखमा घाउ भएका विरामीहरु भेटिएको उनले बताइन् ।
शिविरमा दाँतसम्बन्धी रोगका विरामीहरु पनि धेरै पाइएको थियो । ५० जना बढीमा दाँतको समस्या देखिएको र उनीहरुको दाँत झिकिएको डा. प्रतिमा खड्काले जानकारी दिइन् ।
उपचारमा आएका धेरैजसो विरामीहरुले एक भन्दा बढी रोगको उपचार गराएको सहसेनानी डा. अमिररत्न शाक्यले जानकारी दिए ।
विरामीहरुलाई एन्टीबायोटिक, दुःखाइ कम गर्ने औषधी, भिटामिन लगायतका १ सय भन्दा बढी प्रकारका औषधीहरु निशुल्क वितरण गरिएको थियो ।
मुलुकलाई शान्तिसुरक्षाका साथै जनतालाई स्वास्थ्योपचार दिने दायित्वपूर्ण उद्देश्यसहित दोलखाको साविक जुँगुस्थित नीलण्ठेश्वर माविमा स्वास्थ्य शिविरको आयोजना गरिएको सेनानी अमरराज कट्टेलले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।