ट्राफिक प्रहरीको कारबाहीमा १७ सवारीसाधन

 शम्भु गौतम     २४ चैत्र २०७५, आईतवार

दोलखा, चैत २४

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले आज १७ सावरीसाधनलाई कार्वाही गरेका छ । सवारी साधनहरुको यान्त्रिक अवस्थाको परीक्षण गर्ने क्रममा आज दोलखामा १७ सवारी साधन कारबाहीमा परेका हुन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमको ‘सुरक्षित यात्राको लागि चालकहरुको स्वस्थ्य तथा सवारी साधनहरुको यान्त्रिक अवस्था परीक्षण’ कार्यक्रम अन्तर्गत यान्त्रिक अवस्था ठिक नभएका १७ वटाको सवारी साधनहरुलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी हवल्दार होमप्रसाद खतिवडाले जानकारी दिए ।
सिप्रदी ट्रेडिङ चरिकोटबाट खटिएका मिस्त्रीहरुले ५२ वटा सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरेका थिए । ती मध्ये १७ वटाको अवस्था ठिक नभएकोमा सोको कार्वाही बापत ९ हजार पाँच सय रुपैयाँ जरिवाना असुल भएको पनि उनले बताए ।
त्यसैगरी ५२ जना सवारी चालकको स्वस्थ्य परीक्षण गरिएकोमा ३ जनालाई रक्तचापको समस्या र ३ जनामा आँखाको समस्या देखा परेको छ ।
आँखा र रक्तचापको समस्या रहेका ६ जना चालकलाई दोलखा सामुदायिक अस्पताल तथा सामुदायिक आँखा केन्द्र चरिकोटबाट खटिएका स्वस्थ्यकर्मीहरुले आवश्यक परामर्श दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखा र दोलखा ट्राफिकको संयुक्त आयोजनामा हरेक महिनाको २४ गते सवारीसाधनहरुको यान्त्रिक परीक्षण र सवारी चालकहरूको स्वस्थ्य परीक्षण गरिँदै आएको छ । २०७५ साल माघ २४ गतेबाट सुरु भएको यो अभियान तेस्रो हो ।

bdr

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।