पर्यटकीय कालिन्चोकमा फोहोरमैला व्यवस्थापन गर्न डस्टविन

 शम्भु गौतम     १ बैशाख २०७६, आईतवार

दोलखा, बैशाख १

धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण पर्यटकीय क्षेत्र कालिन्चोकमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या ह्वात्तै बढेसँगै फोहोर पनि बढ्न थालेको छ । फोहोरमैलाले कुरुप बनेको कालिन्चोक क्षेत्रमा विभिन्न निकायहरुले फोहोरमैला व्यवस्थापन पनि थालेका छन् ।
पर्यटकहरुले मन्दिर परिसर तथा बाटो वरपर फालिने फोहोर संकलनलाई सहज बनाउन गैरआवासीय नेपालीहरुको संस्था, स्विटजरल्याण्डको आर्थिक सहयोगमा कालिन्चोकको कुरी बजारदेखि मन्दिरसम्म डस्ट विन राखिएको छ । उक्ट डस्ट विन राख्ने कार्यमा हिमालयन अर्थक्वेक प्रिपेयर्डनेसन सेन्टरले पहल गरेको हो भने कालिन्चोक गाउँपालिकाले प्राविधिक सहयोग गरेको हो ।
हिमालयन अर्थक्वेक प्रिपेयर्डनेसन सेन्टरको पहलमा कुरीदेखि मन्दिरसम्म २५ वटा डस्ट विनहरु राखिएका छन् । सेन्टरका अध्यक्ष तथा गैरआवासीय नेपालीहरुको संस्था स्विटजरल्याण्डका कार्यसमिति सदस्य कुलप्रसाद शिवाकोटीले फोहोरमैला व्यवस्थापनलाई दीर्घकालीन बनाउन स्थानीय तह र स्थानीय जनताको पनि साथ लिईएको बताए ।
यसअघि जिल्ला प्रशासन कार्यालय दोलखाको पहल तथा सशस्त्र प्रहरी बल चरिकोटको प्राविधिक सहयोगमा कालिन्चोकको कुरी बजारदेखि मन्दिरसम्म २४ वटा डस्ट विन राखिएका छन् ।
रणभीम गण, चरिकोटले सेना दिवस २०७५ को अवसरमा कालिन्चोक मन्दिर क्षेत्र सरसफाइको क्रममा सो क्षेत्रबाट मात्रै ५० बोरा फोहोरमैला संकलन र डिस्पोज गरेको थियो ।
दैनिक हजारौँ पर्यटकहरु भित्रिने कालिन्चोकमा पूजासामग्री र खानेकुराहरुबाट निसृत फोहोरमैलाले कालिन्चोक क्षेत्र कुरुप बन्दै गएपछि त्यसको संकलन र व्यवस्थापन चुनौती बनेको हो । अहिले कालिन्चोक क्षेत्रमा फोहोरमैला संकलनलाई डस्टविन राखिए पनि संकलित फोहोरमैला व्यवस्थापन तथा डिस्पोज अर्को समस्या भएको छ । स्थानीय सरकार र स्थानीय व्यवसायीहरुसँगको सल्लाहमा व्यवस्थापनको लागि पनि पहल गरिने सेन्टरका अध्यक्ष तथा गैरआवासीय नेपालीहरुको संस्था स्विटजरल्याण्डका कार्यसमिति सदस्य कुलप्रसाद शिवाकोटीले जानकारी दिए ।
प्रसिद्ध कालिन्चोक मन्दिर जानको लागि काठमाडौबाट दोलखा सदरमुकामसम्म १३२ किलोमिटरको मोटरयात्रा र चरिकोटबाट १७ किलोमिटरको मोटरयात्रापछि कुरी पुग्न सकिन्छ । कुरीबाट हिँडेर जाने र केबलकारबाट जाने दुई विकल्पहरु छन् । कतिपय पर्यटकहरु हिँडेर पनि जाने गर्दछन् । कालिन्चोक दर्शन लि.ले केबलकार निर्माण र सञ्चालन गरेपछि कालिन्चोक भगवती मन्दिर जाने पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।