दोलखामा मच्छिन्द्रनाथको रथयात्रा सुरु

 शम्भु गौतम     ८ बैशाख २०७६, आईतवार

दोलखा, बैशाख ८

ऐतिहासिक तथा पौराणिक सहर दोलखामा परम्परागत रुपमा मनाइँदैआएको मच्छिन्दनाथको यस वर्षको रथयात्रा आजबाट सुरु भएको छ ।
देशमा खडेरी नपरोस्, देश र जनतामा कुनै विपत्ति नपरोस् भन्ने कामना सहित दोलखा जिल्लाको ऐतिहासिक दोलखा सहरमा यस वर्षको मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको हो ।
रथ तान्ने काम आजबाट सुरु भएको भए पनि रथयात्राको विधिविधान भने चैत्र शुक्ल पूर्णिमाको दिनबाट सुरु भएको हो ।
अभयपुरको नाममा कुनै बेला छुट्टै राज्यको अस्तित्व बोकेको दोलखा सहरमा परम्परागत रुपमा मनाईँदै आएको मच्छिन्द्रनाथको रथयात्रा चैत शुक्ल पूर्णिमाको दिन मच्छिन्द्रको मूर्तिलाई दूधले नुहाएपछि सुरु भएको मानिन्छ । स्थानीय भाषामा बुकदेउ भनिने मच्छिन्द्रको मूर्तिलाई शुक्रबार दूधले नुहाएर जात्रा सुरु भएको हो । चैत शुक्ल परेवाको दिन अर्थात हिजो शनिवार मच्छिन्द्रको मूर्तिलाई रथारोहण गरी आजदेखि रथ तान्न सुरु भएको हो ।
परम्पराअनुसार देशमा खडेरी नपरोस्, अनिकाल नपरोस्, देश र जनतालाई कुनै विपत्ति नपरोस् भन्ने कामना गर्दै आर्याबलोकेश्वर अथवा लोकेश्वर करुणामयको आराधनास्वरुप रथलाई एक सातासम्म सहरको विभिन्न भागको परिक्रमा गराउने प्रचलन छ । मल्लकालीन राजा जयवसुदेवले प्रचलनमा ल्याएको मानिने सो जात्रा नेपाल संवत् ७०१ बाट शुरु भएको स्वर्णपत्रमा अङ्कित एउटा आलेखमा उल्लेख छ ।
पहिला नौ तलामा महङ्गो सजावटका साथ निर्माण गरी तानिने सो रथ हिजोआज चार तलामा निर्माण गरी तान्ने गरिएको छ ।
चैत पूर्णिमाका दिन करुणामय मच्छिन्द्रनाथको सुनको मूर्तिलाई दूधले स्नान गरिन्छ । यसलाई स्थानीय भाषामा ‘हपा’ गरेको भनिन्छ । ‘हपा’ गर्ने दिन स्थानीय महिलाहरू आफ्नो इच्छाअनुसार व्रत बस्ने गर्दछन् । पूर्णिमाको तेस्रो दिनदेखि विभिन्न सात टोलमा स्थानीय बाजागाजासहित रथ तानेर पु¥याउने चलन छ । रथलाई पहिलो दिन नकछेँ टोल, दोस्रो दिन कोर्छे टोल, तेस्रो दिनदेखि सातौँ दिनसम्म क्रमशः टसिचा, माथिल्लो टोल, दुङ्गल, पिङ्गल, डोकलुङ्गा टोल हुँदै आठौँ दिन पुनः नकछेँ टोलमा पु¥याई एक वर्षका लागि जात्रा सम्पन्न गरिन्छ ।
रथ तान्ने क्रममा प्रत्येक टोलमा छुट्टाछुट्टै गुठियारद्वारा रथमा पूजाआजा गरेपछि साँझ रथलाई तानेर अर्को टोलमा पु¥याइन्छ । सहरका अशक्त तथा रोगी भक्तजनले समेत घरमै बसी दर्शन गर्न पाउन भनी रथलाई टोलटोलमा परिक्रमा गराएको स्थानीय भरतनारायण प्रधान बताउँछन् । आफ्नो टोलमा रथ तानेर ल्याएको दिन आफन्तहरूलाई भोज खुवाउने गरिन्छ ।

तस्विर सौजन्यः भरतनारायण प्रधान

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।