दोलखामा पहिलपटक क्रिकेट लिग हुँदै

 शम्भु गौतम     २२ बैशाख २०७६, आईतवार

दोलखा, बैशाख २२

दोलखा सदरमुकाम चरिकोटमा पहिलोपटक क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । दोलखा क्रिकेट संघको आयोजनामा आगामी जेठ १३ गतेदेखि टुँडिखेलमा लिग क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

दोलखा क्रिकेट संघका अध्यक्ष सन्तोष पोखरेलका अनुसार जिल्लामा दर्ता भएका क्लब तथा विद्यालयहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् । ती क्लब तथा विद्यालयहरुले बाहिरबाट खेलाडी ल्याएर खेलाउन पनि पाउनेछन् । जिल्लाका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्न र खेललाई आकर्षक बनाउन यसो गर्न लागिएको उनले बताए । जिल्लाका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राट्रिय क्षेत्रमा पु¥याउने मुख्य उद्देश्यले खेल आयोजना गरिएको पनि उनले बताए ।

प्रतियोगितामा जम्मा ६ टिमलाई मात्रै खेलाइने आयोजकले बताएको छ । दर्ताको आधारमा सुरुका ६ टिमलाई मात्रै खेलाइने बताइएको छ ।
दर्ता शुल्क ५ हजार राखिएको प्रतियोगिताको विजयी टिमले नगद रु ५५ हजार ५ सय ५५ र उपबिजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँका साथै शिल्ड पनि पाउने छ । त्यसैगरी म्यान अफ दी म्याच र म्यान अफ दी टुर्नामेन्ट पनि प्रदान गरिने छ । त्यस्तै विजयी खेलाडीहरुले मेडल र प्रमाणपत्र पनि पाउने छन् । खेल जेठ १३ गतेबाट १७ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि दोलखामा इन्टर स्कुल क्रिकेट प्रतियोगिता मात्रै सञ्चालन भएको थियो।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।