दोलखा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी चरममा

 शम्भु गौतम     २५ बैशाख २०७६, बुधबार

दोलखा, बैशाख २५

दोलखा उद्योग वाणिज्य संघको निर्धारित चुनावी मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी निकै बढेको छ ।
संघको कार्यसमितिको निर्वाचन आउन दुई दिन मात्रै बाँकी छँदा घोषित २ वटै प्यानलको चुनावी प्रचार अभियानले अधिवेशनको माहोल तातिएको छ । यही बैशाख २८ का लागि निर्धारण गरिएको संघको निर्वाचनको लागि यसअघिका अध्यक्ष सुन्दर कार्की र सोही कार्यकालका महासचिव इन्द्र श्रेष्ठको प्यानलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अघिल्लो अधिवेशनमा १ मतले चुनाव जितेका सुन्दर कार्की प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने त्यसको जवाफमा अघिल्लो अधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर चुनाव जितेका सो कार्यकालका महासचिव इन्द्र श्रेष्ठ प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । सुन्दर कार्कीलाई आफ्नो कार्यकालमा एउटा बैठक समेत राख्न नसकेको, कार्यकाल पूरै असफल भएको आरोप छ । आफ्नै कार्यसमितिलाई मिलाएर कार्यकाल चलाउन नसकेको र नेतृत्व असफल भएको आरोप छ । अर्कातिर इन्द्र श्रेष्ठलाई लामो समय कार्यसमितिको विभिन्न पदमा बसेर काम गरेको अनुभव छ । उद्योग र व्यवसायमा निकै नै सफल भएका इन्द्र श्रेष्ठलाई दोलखा उद्योग वाणिज्य संघलाई पनि सफल बनाउने अवसर छ ।
चुनावी प्यानलको घोषणा गर्ने क्रममा सुन्दर कार्की प्यानलका एक सदस्यले भनेका थिए, ‘पहिला पनि सुन्दर कार्कीले चुनाव जितेकै हो, अहिले त झन नजित्ने कुरै भएन ।’
२२ औँ अधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा अध्यक्षका प्रत्याशी इन्द्र श्रेष्ठले भनेका थिए, ‘हाम्रो विशुद्ध व्यवसायिक प्यानल छ, हामी सबै उद्योगी–व्यवसायीहरुको हितका लागि काम गर्छौ भन्ने विश्वास लागेपछि सबै क्षेत्रका व्यवसायीहरुले मत दिने विश्वास दिलाएका छन् ।’
इन्द्र श्रेष्ठ अध्यक्ष रहेको प्यानलमा कुलप्रसाद पौडेल, गणेश विक्रम शाही ठकुरी, दिनेश थापा, देवकृष्ण थापा, निला कुमार श्रेष्ठ, मनोज कुमार श्रेष्ठ, विमल श्रेष्ठ, विवेक केसी, सनत थापा, सुव्वा श्रेष्ठ, सुरेन्द्र उप्रेती (सुरु), हेमराज रिमाल, महिला सदस्य अनिता श्रेष्ठ, दलित सदस्य नवराज रिजाल, एसोसिएट सदस्य कृष्णबहादुर श्रेष्ठ रहेका छन् ।
सुन्दर कार्की अध्यक्ष रहेको प्यानलमा गंगाबहादुर कार्की, दिनेश बस्नेत, दिनेश पाठक, बलराम थापा, विकास श्रेष्ठ, भिमबहादुर श्रेष्ठ, रामकुमार खड्का, सरुना श्रेष्ठ, सुरेश उप्रेती, सुन्दर श्रेष्ठ, श्यामकृष्ण कायस्थ, हिमाल न्यौपाने, एसोसिएट सदस्य रामदास श्रेष्ठ, महिला सदस्य नविना लामा र दलित सदस्य अनिल रिजाल रहेका छन् ।
दोलखा उद्योग वाणिज्य संघको २२ औ अधिवेशनको लागि चरिकोट, दोलखा बजार, सिँगटी, मागादेउराली, मैनापोखरी, किर्नेटार गरी ८५२ मतदाताहरु रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।