राजश्व संकलनमा प्रविधि सहयोगी

 शम्भु गौतम     २७ बैशाख २०७६, शुक्रबार

दोलखा, बैशाख २७

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रविधिको प्रयोगबाट मालपोत तथा नापी कार्यालयले राजश्व संकलनमा बृद्धि गर्न सकेको बताएकी छन् ।
आज नापी कार्यालय दोलखाको कार्यालय भवन उद्घाटन गर्दै मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालयले डिजिटल प्रविधिबाट काम सुरु गरेपछि आर्थिक चुहावट कम भएको र राजश्व सङ्कलनमा बृद्धि भएको बताएकी हुन् ।
मन्त्री अर्यालले डिजिटल प्रविधिबाट काम गर्न अहिले दक्ष कर्मचारीको समस्या र केही प्राविधिक समस्या रहेको स्वीकार गरिन् । उनले यसको समाधानको लागि मन्त्रालयले काम गरिरहेको जानकारी पनि गराइन् । उनले प्रविधिको थप प्रयोग र आधुनिकीकरणको लागि समेत मन्त्रालयले थप काम गरिरहेको जानकारी गराइन् । मन्त्री अर्यालले सेवाग्राहीले मालपोत या नापी कार्यालयको एउटा कोठामा कागजात बुझाएपछि एक–आधा घण्टामा सबै काम सकेर जाने वातावरण बनाउन प्रविधिको अधिकतम उपयोग गर्नेगरी मन्त्रालयले काम गरिरहेको बताइन् ।
मन्त्री अर्यालले सार्वजनिक जग्गाको खोजी गरी सरकार माताहत ल्याउन अधिकार सम्पन्न आयोग गठन गरिएको उल्लेख गर्दै कसैले पनि सार्वजनिक जग्गालाई व्यक्तिको नाममा बनाउन नसक्ने दावी गरिन् ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीको सभापतित्वमा सम्पन्न भवन उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सांसद पार्वत गुरुङ, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नापी कार्यालय दोलखाका प्रमुख राजु पुरीले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।