दोलखा उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समूहका इन्द्र विजयी

संघलाई गतिशील बनाउने प्रतिवद्धता

 शम्भु गौतम     २९ बैशाख २०७६, आईतवार

दोलखा, बैशाख २९

दोलखा उद्योग वाणिज्य संघको २२ औ अधिवेशनबाट लोकतान्त्रिक समूहका इन्द्रबहादुर श्रेष्ठ बहुमत सदस्य सहित निर्वाचित भएका छन् ।
संघको २२ औँ साधारणसभा तथा अधिवेशनले श्रेष्ठ सहित प्यानलका बहुमत सदस्य निर्वाचित भएका हुन् । कुल खसेको मतमा श्रेष्ठले ४०३ पाएका छन् भने, श्रेष्ठका प्रतिद्वन्द्वी उम्मेद्वार सुन्दर कार्कीको ३६७ मत ल्यएको निर्वाचन अधिकृत सरोज उप्रेतीले जानकारी दिनुभयो । जम्मा ८५२ मतमध्ये ८०६ मत खसेका थियो ।
उद्योगी र हार्डवेयर व्यापारी श्रेष्ठ यसअघिको निर्वाचनमा सर्वाधिक मत पाई महासचिव पदमा चयन भएका थिए । कार्की यसअघिका अध्यक्ष हुन् । उनले अघिल्लो निर्वाचनमा १ मतले विजयी भएका थिए । त्यसैगरी श्रेष्ठ प्यानलबाट सदस्य पदमा दिनेश थापा, हेमराज रिमाल, सनत थापा, देवकृष्ण थापा, गणेश विक्रम साहि, विमल श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी उनकै प्यानलबाट महिला सदस्यमा अनिता श्रेष्ठ, आरक्षण सदस्यमा नवराज रिजाल र एसोसियट्स सदस्यमा कृष्णबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । एसोसिएट सदस्य भने निर्विरोध निर्वाचित भएका हुन् । जम्मा १६ सदस्यीय कार्यसमितिको निर्वाचन भएकोमा श्रेष्ठ प्यालनका १० जना निर्वाचित भएका हुन् ।
यस्तै कार्की प्यानलबाट दिनेश बस्नेतले सबैभन्दा बढी ४०७ मत ल्याई सदस्यमा विजयी भएका छन् । त्यसैगरी सोही प्यानलकाट बलराम थापा, श्यामकाजी कायस्थ, हिमाल न्यौपाने, दिनेश पाठक र सुरेश उप्रेती सदस्य पदमा निर्वाचित भएका छन् ।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले संघलाई गतिशीलता दिने बताए । प्रतिवद्धतापत्रमा उल्लेख गरिएअनुसार दोलखाका उद्यमी व्यवसायीको हकहित, व्यवसायिक तथा भौतिक सुरक्षाका लागि काम गर्ने बताए । उनले दोलखा जिल्लामा उद्योग व्यवसाय प्रवद्र्धन गर्ने र समग्र जिल्लाको विकासको लागि सरोकारवाला निकायहरुसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।