भवन मर्मत पहिलो प्राथमिकता : अध्यक्ष श्रेष्ठ

 शम्भु गौतम     ३० बैशाख २०७६, सोमबार

दोलखा, बैशाख ३०

दोलखा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले सपथ ग्रहण गर्दै संघको भवन मर्मत गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
दोलखा उद्योग वाणिज्य संघको २२ औँ अधिवेशनबाट निर्वाचित भएको भोलिपल्टै आयोजित सपथ ग्रहण कार्यक्रममा सपथ लिँदै अध्यक्ष श्रेष्ठले बढीमा ६ महिनाभित्रमा दोलखा उद्योग वाणिज्य संघको क्षतिग्रस्त भवन मर्मत गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बढीमा ६ महिनाभित्र भवन मर्मत गरी सो भवनबाट संघको कार्यसम्पादन गरिने बताए । संघको भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि भाडाको घरमा संघको कार्यालय सञ्चालन हुँदै आएको थियो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विशुद्ध व्यवसायिक टिम निर्वाचित भएकोले अर्को प्राथमिकता व्यवसायीहरुको समस्या पहिचान गरी समाधन गर्नु रहेको बताए ।
दुई प्यानलबिच भएको निर्वाचनमा श्रेष्ठले सुन्दर कार्कीलाई ३६७ मतका विरुद्ध ४०३ मतले पराजित गरेका हुन् । श्रेष्ठ अन्य ९ जनासहित बहुमत सदस्य विजयी भएका हुन् । तर उनले संघलाई मिलाएर लैजाने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । श्रेष्ठको टिमबाट दिनेश थापा, सनत थापा, गणेशविक्रम शाही, देवकृष्ण थापा, हेमराज रिमाल, विमल श्रेष्ठ, नवराज रिजाल, अनिता श्रेष्ठ र कृष्णबहादुर श्रेष्ठ निर्वाचित भएका थिए भने कार्की प्यानलबाट दिनेश बस्नेत, बलराम थापा, श्यामकृष्ण कायस्थ, सुरेश उप्रेती, हिमाल न्यौपाने, दिनेश पाठक निर्वाचित भएका थिए ।
सो अवसरमा संघको भवन मर्मतको लागि संघका पूर्व महासचिव पृथ्वीबहादुर श्रेष्ठले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् भने पूर्व अध्यक्ष रामेश्वर मानन्धरले २५००१ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै संघका सदस्यहरुको हिमका लागि अक्षयकोष व्यवस्थापनको लागि पूर्वमहासचिव पृथ्वीबहादुर श्रेष्ठले ५१ हजार रुपैयाँ र पूर्व अध्यक्ष रामेश्वर मानन्धरले २५००१ रुपैयाँ प्रदान गरेका छन् ।

तस्विर : गोकर्ण भण्डारीको फेसबुक वालबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।