दोलखाको पहिलो खुला क्रिकेटको उपाधि त्रिपुरालाई

 शम्भु गौतम     १७ जेष्ठ २०७६, शुक्रबार

दोलखा, जेठ १७

गणतन्त्र दिवसको अवसरमा जिल्लामै पहिलोपटक आयोजना गरिएको खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि त्रिपुरा ग्लोरियस एकेडेमीले हात पारेको छ ।
सदरमुकाम चरिकोट स्थित टुडिखेलमा आज भएको फाइनल खेलमा त्रिपुरा ग्लोरियसले चरिकोट युथ क्लबलाई १४२ रनले हराउँदै उपाधिमाथि कव्जा जमाएको हो ।
टस जितेर ब्याटिङ रोजेका त्रिपुरा ग्लोरियसले ६ विकेटको क्षतिमा २७६ रनको चुनौती दिएको थियो । जितका लागि त्रिपुरा ग्लोरियसका अरनिको यादवले सबैभन्दा बढी १४६ रन जोडेका थिए । त्यसैगरी अरनिको यादवले सबैभन्दा बढी ४ विकेट पनि लिएका थिए । यादव खेलको म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज समेत भए
टस हारेपछि २७७ रन को लक्ष्य पाएको चरिकोट युथ क्लब सबै विकेटको क्षतिमा १३४ रनमा समेटिएको थियो ।
विजेता र उपविजेता टिमलाई भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले पुरस्कार प्रदान गरेका थिए । विजेता र उपविजेता टिमलाई सिल्ड, मेडल प्रमाणपत्र सहित नगद क्रमशः ५५ हजार ५५५ र २५ हजार ५२५ रुपैयाँ प्रदान गरिएको आयोजक क्रिकेट संघ दोलखका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।
खेलमा त्रिपुरा ग्लोरियसका चन्दन गिरी बेष्ट विकेट किपर, कैलाश चन्द बेस्ट बलर र चरिकोट युथ क्लबका दिनेश वड बेष्ट ब्याट्सम्यानको उपाधि जित्न सफल भएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।