गौरीशंकर संरक्षण क्षेत्रमा दुर्लभ हिमचितुवा र सुनौलो बिरोलो

 शम्भु गौतम     २२ जेष्ठ २०७६, बुधबार

दोलखा, जेठ २२

गौरीशंकर संरक्षण क्षेत्रमा संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलो पटक देखिएको छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रापिङका क्रममा दुर्लभ हिमचितुवा र सुनौलो बिरालोको दृश्य रेकर्ड गरिएको हो ।
आयोजनाले दोलखा जिल्लाको विगु गाउँपालिका अर्थात साविक लामाबगर गाविस वडा नं १ को लप्ची उपत्यकाका विभिन्न ११ ठाउँमा इन्फ्रारेड क्यामेरा राखी गरिएको अध्ययनबाट हिमचितुवाको ३ वटा तस्विर रेकर्ड भएपछि सो क्षेत्रमा हिमचितुवाको उपस्थिति पुष्टि भएको हो ।
आयोजनाका अनुसार क्यामेरा ट्रापिङबाट दुर्लभ सुनौलो बिरालोको तस्विरसमेत रेकर्ड भएको छ । त्यसैगरी संरक्षित तथा दुर्लभ जन्तुहरु चरिबाघ, कस्तुरी मृग, आसामी बाँदर जस्ता जनावरहरुको समेत तस्विर रेकर्ड भएको आयोजनाका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिए । संरक्षण अधिकृत पाण्डेका अनुसार क्यामेरा ट्रापिङमा हिमाली कालो भालु, तिब्बती फ्याउरो, झारल, घोरल, नाउर, चितुवा, रातो फ्याउरो लगायत १५ स्तनधारी जनावरहरुको तस्विर रेकर्ड भएको छ ।
संरक्षण क्षेत्रमा जीजन्तुहरुको उपस्थिति पत्ता लगाउन आयोजनाले २०७५ साल असोजदेखि २०७६ बैशाखसम्म लप्ची उपत्यकामा गरेको क्यामेरा ट्रापिङबाट ४ हजार ८७ मिटर माथिको उचाइमा मिहचितुवाको ३ वटा तस्विर रेकर्ड भएको हो । हिमचितुवाको तस्विर रेकर्ड भएको स्थान लप्ची गुम्बाबाट ७ किलोमिटरको दुरीको खोलाछेउस्थित सुनापाती र धुपीका मसिना बोट तथा हिमाली घाँसे भूमि पर्दछ ।
लप्ची उपत्यका नेपालमा तुलनात्मक रुपमा प्राकृतिक अवस्थामा रहेको हिमाली क्षेत्र हो । यस क्षेत्रमा शेर्पाहरुको बसोबास रहेको छ । साँस्कृतिक रुपमा यस क्षेत्रमा जीवजन्तुहरुको काटमार तथा मासुजन्य पदार्थ उपभोग पूर्णतः बर्जित गरिएको हुनाले वन्यजन्तु संरक्षणको दृष्टिले सुरक्षित मान्न सकिन्छ । सर्वसाधारणले समेत सजिलै वन्यजन्तु अवलोकन गर्न सकिने यस क्षेत्र जैविक विविधताको दृष्टिले महत्वपूर्ण रहेको छ ।
हिमचितुवा मध्य एसिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा रहेको यस जीवलाई अन्तर्राष्ट्रिय संरक्षण संघ (आई.यु.सि.एन.) ले समेत दुर्लभ प्रजातिको रुपमा सूचिकृत गरेको छ । हिउँचितुवा विश्वमा १० हजार भन्दा कम संख्यामा जीवित रहेको अनुमान गरिएको छ । नेपालमा यसको संख्या ३ सय देखि ५ सयको संख्यामा रहेको अनुमान छ भने यस संरक्षण क्षेत्रमा ३ देखि ५ वटासम्म रहेको अनुमान छ । नेपालको कञ्चन्जंघा, मकालु बरूण, सगरमाथा, लाङ्टाङ, मनासलु, अन्नपूर्ण, शे फोक्सुण्डो, ढोरपाटन, अपिनाम्पा क्षेत्र लगायतका हिमाली क्षेत्रहरुमा हिउँ चितुवाको उपस्थितिको रकर्ड गरिएको छ ।
जैविक विविधताको दृष्टिले अत्यन्त महत्वपूर्ण यो क्षेत्रमा राष्ट्रिय प्रकृति संरक्षण कोषको स्वीकृति ‘जैविक विविधता अध्ययन अनुसन्धान’ शीर्षक अन्तर्गतको अनुसन्धान कार्य गरिएको आयोजना प्रमुख सत्यनारायण साहले जानकारी दिए । अनुसन्धानमा आयोजनाका संरक्षण अधिकृत बिष्णुप्रसाद पाण्डे तथा पोखरा विश्वविद्यालय, नेपाल इन्जिनियरिङ कलेज, स्नात्तकोत्तर अध्ययन केन्द्रका उपप्रध्यापक डा. नारायण प्रसाद कोजुको संयुक्त नेतृत्वमा आयोजनाका प्राकृतिक श्रोत संरक्षण सहायक शंकरमान थामी र स्तानकोत्तर तहमा अध्ययनरत विद्यार्थी विजय बस्यालको समुहले लप्ची उपत्यकामा क्यामेरा ट्रापिङ तथा स्थलगत अनुसन्धान गरेको हो ।

M2E1L0-0R336B386

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।