‘दुई तिहाइको दुरुपयोग’

 शम्भु गौतम     २४ जेष्ठ २०७६, शुक्रबार

दोलखा जेठ २४

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले दुई तिहाई मतको सदुपयोग गरी देश विकास गर्न सक्ने अवसरलाई दुरुपयोग गरेको बताएका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा आयोजित जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौड्यालले कम्युनिष्ट सरकारले जनताको अमुल्य मतको दुरुपयोग गर्दै देशलाई वेथितिको बाटोमा डो¥याएको आरोप लगाए ।
देशको बढ्दै गएको महंगी र मारमा परेका जनतालई बेवास्ता गरी मनोमानी ढंगले बजेट ल्याएको उल्लेख गर्दै नेता पौड्यालले सबै प्रकारका भ्रष्टाचार र वेथिति रोक्न अव जनता जाग्नुपर्ने बताए ।
नेता पौडेलले भने, ‘अख्तियार, अदालत सबै आफू अनुकुल बनाएको हुँदा कम्युनिष्ट नेताहरुलाई अदालतले मुद्दा हाल्न नसक्ने अवस्था आएको छ । राष्ट्रको ढुकुटी लुटिएको छ । जनतालाई धोका दिएर राष्ट्रलाई दलदलमा फसाएको छ । अप्पर तामाकोसीमा समेत कम्युनिष्टले ठुलो भ्रष्टाचार गरेर लागत दोब्बर बनाएको छ ।’
हरेक क्षेत्रमा तलदेखि माथिसम्म संस्थागत भ्रष्टाचार गरिएको बताउँदै नेता पौड्यालले अहिले कम्युनिष्ट नेता कार्यकर्ताले वाइड वडीदेखि वालुवाटारको जग्गा पास गर्दा समेत प्रधानमन्त्रीदेखि सञ्चारमन्त्री आफैँ भ्रष्ट्राचारीलाई जोगाउन लागेको बताए ।
‘त्यसैले जनतालाई जगाउँदै देश बचाउन हिमाल, पहाड, तराई, मधेस जागरण अभियान सुरु गरिएको हो ।’, उनले भने ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पार्टी प्रबक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले हास्य कलाकार धुर्मस र सुन्तलीले जति काम पनि गर्न नसकेको आरोप लगाए । देशविदेशका नेपालीको धन जुटाएर अरबौँको रंगशाला बनाउने काममा लागेका धुर्मुस सुन्तलीको प्रशंसा गर्दै प्रवक्ता शर्माले झापाका केपी ओलीले सारा नेपालीलाई पैसा उठाएर बनाउँदै गरेको बुढी गण्डकी समेत विदेशीलाई बुझाएर अलपत्र पार्ने काम गरको आरोप लगाए ।
उनले समृद्धिको नारा दिएर देशमा रेल, तेल पानी जहाज ल्याउँछु भन्ने कम्युनिष्ट सरकारले जनतालाई महंगीको दलदलमा फसाएको आरोप लगाए । कम्युनिष्ट सरकारले पाँच लाखको रोजगारी कार्यक्रम ल्याएपनि त्यसले पाँच सयलाई पनि रोजगारी दिन नसकेको जिकिर गरे ।
चरिकोट सातदोबाटो चोकमा भएको सभामा प्रतिनिधि सभा सांसद जिपछिरिङ शेर्पा, रसुवाबाट प्रदेश सांसद प्रभात तामाङ, नेपाली कांग्रेस जिल्ला पार्टी सभापति रुद्र बहादुर खड्का लगायतले राष्ट्रियता, लोकतन्त्र र समाजवादका विषयमा केन्द्रित भई आफ्ना धारण राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र पौड्याल र विशेष अतिधि विश्व प्रकाश शर्माले नपाल कम्युनिष्ट पार्टी परित्याग गरी कांग्रेस पार्टी प्रवेश गर्नेहरुलाई खादा र अविर लगाएर स्वागत गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।