गति लिँदै दोलखा उद्योग वाणिज्य संघ

 शम्भु गौतम     २५ जेष्ठ २०७६, शनिबार

दोलखा २५ जेठ

निजी क्षेत्रको अग्रणी संस्था दोलखा उद्योग वाणिज्य संघको भूकम्पले क्षति पुर्याएको भवनको प्रबलीकरण सुरु भएको छ ।
संघको २२ औँ साधारण सभा एवं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आफ्नो सबैभन्दा महत्वपूर्ण कामको रुपमा भवन प्रवलीकरणको औपचारिक सुरु गरेको हो ।
भीमेश्वर नगरपालिका ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी र दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ द्वितीय उपाध्यक्ष सनत थापा लगायतका पदाधिकारीहरुले संयुक्त रुपमा हम्मर हानेर भवन मर्मतको औपचारिक सुरु गरेका हुन् ।
साँढे चार तलाको भवनको डेढ तला काटेर ३ तलाको सुरक्षित भवन बनाउने संघको तयारी छ । भवनको तेस्रो तलामा सुविधा सम्पन्न प्रिफ्याब सभाहल निर्माण गर्ने तयारी रहेको संघका महासचिव हेमराज रिमालले जानकारी दिए ।
संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले उक्त भवन मर्मत गर्न ७० देखि ८० लाख बराबरको प्राविधिक इस्टमेट रहेको जानकारी दिए । अध्यक्ष श्रेष्ठले चरिकोटस्थित भीमेश्वर नगरपालिका र त्यहाँ कार्यरत प्राविधिकहरुको परामर्श अनुसार नै भवन प्रबलीकरण अभियान सुरु भएको बताएका छन् । उनले नगरपालिकासँगै सहकार्य गरेर भवन मर्मतको काम सुरु भएको बताए । वर्तमान कार्यसमितिको निर्वाचनअघि चुनावी घोषणापत्रमा मुख्य प्राथमिकतामा रहेको भवन निर्माण सुरु भएको संघका द्वितीय उपाध्यक्ष सनत थापाले जानकारी दिए ।
सबै सरोकारवालाहरुलाई सहयोगको आग्रह
अध्यक्ष श्रेष्ठले भवन पुनर्निर्माणमा मोटो रकम खर्च हुने भन्दै सम्पूर्ण सरोकारवालासँग संघले सहयोगको अपेक्षा गरेकोे बताएका छन् । उनले जिल्लाका सबै उद्योगी व्यवसायीहरुको साझा संस्था भएकोले पनि जिल्लाका सबै स्थानीय तहहरुलाई संघको तर्फबाट सहयोगका लागि औपचारिक पत्राचार गरिने जनाएका छन् । उनले जिल्लामा कृयाशील सबै जनप्रतिनिधि, सांसद , दोलखामा रहेका जलविद्युत आयोजना , गैरसरकारी संस्थाहरु, सबैजसो उद्योगी व्यवसायी लगायत सम्पूर्णमा भवन निर्माण जस्तो पवित्र कार्यमा सघाउन अनुरोध समेत गरेका छन् । संघले भवन मर्मतको जिम्मेवारी भवन निर्माण समिति मार्फत अघि बढाएको छ । समितिका संयोजक गणेश विक्रम शाहीका अनुुसार प्रचलित नियम अनुसार तोकिएकै समय अवधिभित्र भवन मर्मत सम्पन्न गरिने जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।