चौतर्फी विरोधपछि गुठी विधेयक फिर्ता लिने सरकारको निर्णय

विरोधमा कांग्रेस सभापतिहरुको पनि संयुक्त विज्ञप्ति

 शम्भु गौतम     ३ असार २०७६, मंगलवार

दोलखा, असार ३

चौतर्फी दवाव र विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिने घोषणा गरेको छ । भूमि व्यवस्था मन्त्री पद्य्मा अर्यालले पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी गराएकी हुन् ।
राष्ट्रियसभामा दर्ता भएको यो विधेयक गुठी मास्ने गरी ल्याएको भन्दै चौतर्फी विरोध भएको थियो । आजै नेपाली कांग्रेसका ७७ वटै जिल्ला सभापतिहरुको भेलाले गुठी विधेयक तत्काल फिर्ता लिई गुठीमा आइपरेका समस्याहरुलाई समाधान गर्न ध्यानाकर्षण गराएका थिए ।
कांग्रेस सभापतिहरुको भेलापछि प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘सर्वसत्तावादतर्फ उन्मुख सरकारले गुठीयारको अधिकार खोस्ने मात्रै हैन, हाम्रो धर्म, संस्कृति र परम्परामाथि प्रहार गर्न खोजेका स्पष्ट हुन्छ ।’
नेपाली कांग्रेस नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीले सरकारले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणको विपरीत गुठी विधेयकको नाममा गुठीयारहरुको अधिकार खोसी गुठीको सम्पत्तिमाथि कब्जा गर्ने रणनीति लिएको आरोप लगाए ।
विभिन्न मितिमा गुठी संरक्षणका लागि गरिएको आन्दोलनमा संरक्षणकर्मीमाथि सरकारले गरेको धरपकडको भत्सर्ना गर्दै विज्ञप्तिमा ती आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले विधेयकलाई लिएर भ्रम सिर्जना गर्ने र वातावरण विथोल्ने कोसिस भएकोले सम्बन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको बताएकी छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।