खुला भलिबलको उपाधि तामाकोशीको पोल्टामा

 शम्भु गौतम     ५ असार २०७६, बिहीबार

दोलखा, असार ५

दोलखा जिल्लाका पालिकाहरुबिच भएको खुला भलिबल प्रतियोगिताको उपाधिमा तामाकोशी गाउँपालिकाले कव्जा जमाएको छ ।
आज सम्पन्न फाइनल खेलमा कालिन्चोक गाउँपालिका ‘बी’ लाई ३–१ को सेटमा पराजित गर्दै तामाकोशी गाउँपालिकाले उपाधि हा पारेको हो ।
उपाधिसँगै तामाकोशी गाउँपालिकाले नगद रु एक लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । विजेता टोलीहरुलाई तामाकोशी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले पुरस्कार प्रदान गरेका छन् ।
त्यसैगरी दोस्रो स्थानमा चित्त बुझाएको कालिन्चोक गाउँपालिका ‘बी’ले नगद रु ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गर्ने भीमेश्वर नगरपालिकाले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा सान्वना स्थान पाउने टिम कालिञ्चोक ‘ए’ लाई नगद १५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिता गाउँपालिकाको आयोजनामा वडा नम्बर – ५ किर्नेमा ३ गतेदेखि सुरु भएको थियो । जिल्लाका तामाकोशी, कालिञ्चोक ‘ए’ र ‘बी’, वैत्यश्वर, गौरीशंकर, मेलुङ र शैलुङ गाउँपालिका र भीमेश्वर नगरपालिका गरी ९ टिमले प्रतियोगितामा सहभागिता जनाएको थियो । जिल्लाको जिरी नगरपालिका भने प्रतियोगितामा सहभागी भएन ।
प्रतियोगितामा कालिञ्चोक ‘बि’ का विजयराज बस्नेत उत्कृष्ट खेलाडी भएका छन् भने बेस्ट लिफ्टरमा कालिञ्चोककै हरिवंश बुढाथोकी भएका छन् । तामाकोशीका हरिभक्त खड्का बेस्ट स्टाइकर, नारायण चौलागाईं बेस्ट डिफेन्डर र सुरेश खड्काले बेस्ट ब्लकर भएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।