भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै भीमेश्वरको करिब ८८ करोडको बजेट

 शम्भु गौतम     १० असार २०७६, मंगलवार

दोलखा, असार १०
भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै दोलखाको भीमेश्वर नगरपालिकाले करिब ८८ करोडको बजेट प्रस्तुत गरेको छ । भवन तथा सहरी विकासलाई मुख्य प्राथमितामा राख्दै भीमेश्वर नगरसभाले आज ८७ करोड ६१ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।
आर्थिक बर्ष ०७६/०७७ को लागि संघीय व्यवस्था पछिको तेस्रो बजेट प्रस्तुत गरेको हो । नगर प्रमुख भरतबहादुर केसीको अध्यक्षतामा भएको तेस्रो नगरसभामा उपप्रमुख कमला वस्नेतले बजेट वक्तव्य दिएकी हुन् ।
भीमेश्वर नगरपालिकाले चालु तर्फ ३९ करोड, ५५ लाख ७५ हजार, पूँजीगत तर्फ ४७ करोड, ८५ लाख, ७६ हजार र वित्त व्यवस्थापन तर्फ २० लाख गरी ८७ करोड, ६१ लाख, ५१ हजार रुपैयाको बजेट प्रस्तुत गरेको नगरप्रमुख केसीले बताए ।
नगरसभामा प्रस्तुत आर्थिक बर्ष ०७६/०७७ को बजेटमा भवन तथा सहरी विकासको लागि २३ करोड, ५४ लाख रुपैया विनियोजन गरिएको छ । भवन तथा सहरी विकास कार्यक्रम अन्र्तगत सातदोवाटो चोकमा सिनेमा हल सहितको बहुउदेश्यीय भवन निर्माण, कवर्डहल निर्माण, टुँडीखेल, नगरपालिकाको भवन निर्माण, एयरपोर्टको संभाव्यता अध्यन र सडक वत्ती व्यवस्थापन प्राथमिकतामा रहेका छन् ।
बजेटले दोस्रो प्राथामिकता शिक्षा क्षेत्रलाई राखेको छ । शिक्षा क्षेत्रको लागि २० करोड, ७५ लाख, ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमा स्थानीय पाठ्यक्रमहरुको तर्जुमा, दिवा खाजा, पोशाक, प्राविधिक शिक्षाको लागि छात्रवृत्ति आदि मुख्य छन् ।
भीमेश्वर नगरपालिकाको तेस्रो नगरसभा बैठकले आर्थिक बर्ष ०७६/०७७ का लागि प्रस्तुत गरेको बजेटमा कृषि तथा सिंचाइतर्फ कृषि बाली र पशुपालनमा आधुनिकीकरण, स्थानीय जातको उत्पादनलाई संरक्षण, प्राङ्गारिक कृषि उत्पादनमा प्रोत्साहन, उत्पादनको आधारमा कृषकहरुलाई प्रोत्साहन, उद्योग बाणिज्य तथा बजार व्यवस्थापनतर्फ ‘रोकौ विदेश जान, खोलौ आफ्नै कारखाना’ कार्यक्रम, लगानीमैत्री वातावरण निर्माण प्राथमिकतामा छन् । ्
त्यसैगरी पर्यटनतर्फ नगरलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं साहसिक पर्यटन गनतव्यको रुपमा विकास गर्ने, एक वडा एक पार्क निर्माण, पर्यटक स्थलहरुको पहिचान आदि छन् । त्यस्तै सहकारीतर्फ सार्वजनिक समुदाय साझेदारी कार्यक्रम, सरल तथा सहुलियतपूर्ण कर्जा प्रवाहको वातावरण निर्माणलाई प्राथामिकतामा राखिएको छ ।
त्यसैगरी आधारभूत स्वास्थ्य तथा अस्पताल व्यवस्थापनतर्फ स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन, एक विद्यालय एक नर्स, आकस्मिक स्वास्थ्य सेवा, गर्भवती महिला, आमा र नवजात शिशुको नियमित स्वास्थ्य जाँच आदिलाई प्राथमिकता दिइएको छ । खानेपानी तथा सरसफाईतर्फ एक घर एक धारा अभियान, सहरी क्षेत्रमा सहरी खानेपानी आयोजना र ग्रामीण क्षेत्रमा वडा स्तरीय खानेपानी आयोजना, दिसाजन्य लेदो व्यवस्थापन र सरसफाइ केन्द्र स्थापना रहेका छन् ।
भाषा, संस्कृति तथा ललितकलाको संरक्षण तथा प्रर्वद्धन कार्यक्रमतर्फ भाषा, लिपि, कला, संस्कृति, सम्पदा र धार्मिक स्थलको संरक्षण, आदिवासी जनजाति तथा दलित समुदायको परम्परागत सीप र कलाको संरक्षण तथा संर्वद्धन रहेका छन् । त्यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ एक वडा एक खेल मैदान निर्माण, लैङ्गिक समानता आदिलाई प्राथामिकतामा राखिएको छ ।
त्यसैगरी सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षातर्फ एक वडा एक जेष्ठ नागरिक आरोग्य मिलन केन्द्र निर्माण, सुत्केरी पोषण भत्ता, जेष्ठ नागरिक स्वास्थ्य खर्च, पूर्ण अशक्त, अपाङ्गता पालन पोषण खर्च, सडक पूर्वाधार विकास तर्फ भीमेश्वर चक्रपथको निर्माण, सडक सतरोन्नती कार्यक्रम राखिएका. छ । त्यस्तै सूचना, सञ्चार तथा विज्ञान प्रविधितर्फ वडा केन्द्रहरुमा इन्टरनेट सेवा, सोलार पार्क र साइन्स पार्क निर्माण गर्न सम्भाव्यता अध्ययन, स्थानीय सञ्चार माध्यमहरुको प्रर्वद्धन, गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी ऊर्जा तथा सडक बत्तीतर्फ सडक बत्ती, बायो ग्याँस निर्माण, त्यस्तै वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ बृक्षारोपण, चरण क्षेत्रको विकास, पुनर्भरण पोखरी निर्माण तथा सुशासन, त्यस्तै संस्थागत विकास र सेवा प्रवाहतर्फ नगरपालिकाको सेवा प्रवाह सेवाग्राही मैत्री बनाउने, सार्वजनिक सुनवाइ गर्ने, अतिरिक्त प्रोत्साहन भत्ता, पुरस्कार, क्षमता विकास तालिम आदिलाई प्राथामिकतामा राखिएको छ ।
नगरपालिकाको तेस्रो नगरसभाले प्रस्तुत गरेको बजेट बक्तव्यमा उल्लेख भएका कार्यक्रमहरुलाई प्राथामिकताका साथ कार्यान्वयन गर्न नगरपालिकाले विशेष अभियान तथा कार्यक्रमहरु सञ्चालन गर्ने नगरप्रमुख भरतबहादुर केसीले प्रतिवद्धता व्यक्त गरे ।
आजै जिल्लाको जिरी नगरपालिका र तामाकोसी, गौरीशङ्कर, मेलुङ, शैलुङ, विगु, कालिञ्चोक र बैतेश्वर गाँउपालिकाले पनि आर्थिक बर्ष ०७६/०७७ को बजेट सार्वजनिक गरेका छन्

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।