माथिल्लो तामाकोशीको माथिल्लो भर्टिकल साफ्टमा पनि सफलता

 शम्भु गौतम     १० असार २०७६, मंगलवार

दोलखा, असार १०

बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सबैभन्दा कठिन मानिएको ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काममा सफलता मिलेको छ ।
आज करिब २ घण्टाको प्रयासमा लट नं २ का ठेकेदार टेक्सम्याको रेल्वेइन्जिनियरिङले अढाइ मिटर लम्बाइ तथा ९ टन तौल भएको पेनस्टक पाइप राख्ने काममा सफलता मिलेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
करिब ५ महिनाको प्रयासपछि यसअघि तल्लो भर्टिकल साफ्टमा करिब एक साता अघि पेनस्टक पाइप राख्ने काममा सफलता मिलेको थियो । यही असार १ गते तल्लो भर्टिकल साफ्टमा २८ टन तौल भएको ५ मिटर लम्बाइको पेनस्टक पाइप सफलतापूर्वक राखिएको थियो ।
३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट उक्त पेनस्टक पाइप साफ्टमा राखिएको थियो । उक्त अवसरमा आयोजना प्रमुख दिनेशजंग राणा, मेकानिकल महाशाखा प्रमुख नारायण जैशी तिवारी तथा इलेक्ट्रिकल महाशाखा प्रमुख पूर्णगोपाल रञ्जितको उपस्थिति रहेको थियो । साफ्टमा पेनस्टक पाइप राख्न दुई घण्टा लागेको आयोजनाका प्रवक्ता डा न्यौपानेले बताए ।
पेनस्टक पाइप राख्ने सुरुङ खन्ने जिम्मा लटनम्बर १ का चिनिया ठेकेदार सिनो हाइड्रोले ०७२ सालको भुकम्प अघि नै सकेको भए पनि लामोसाँगु जिरी सडक विस्तारको कार्य र पेनस्टक पाइप ल्याउने जिम्मा पाएको लट नम्बर २ को हाइड्रो मेकानिकलको ठेकेदार टेक्सम्याको रेल्वेइन्जिनीयरिङले समयमै काम नगरेपछि काममा ढिलाइ भएको थियो । आयोजनाले उक्त कार्य अघि बढाउन लट नम्बर ३ का ठेकेदार एन्ड्रिज हाइड्रो तथा लट नम्बर २ को हाइड्रो मेकानिकलको ठेकेदार टेक्सम्याको रेल्वेइन्जिनीयरिङसँग त्रिपक्षीय सम्झौता गरी ३७३ मिटरको तल्लो ठाडो सुरुङमा पाइप राख्ने कामको जिम्मा लट नम्बर ३ का ठेकेदार एन्ड्रिज हाइड्रोलाई दिने सहमती गरिएको थियो ।
तल्लो भर्टिकल साफ्ट र माथिल्लो भर्टिकल साफ्टमा पाइप राख्ने काममा भएको सफलतासँगै आयोजना समयमै सम्पन्न गर्नको लागि हौसला प्राप्त भएको छ ।
आयोजनाको बाँधस्थलको काम सम्पन्न भैसकेको छ भने मुख्य सुरुङमा कङक्रिटिङको काम अन्तिम चरणमा पुगेको छ । सुरुङ मार्गमा ग्राउटिङको काम भैरकेको छ । विद्युतगृहको काम अन्तिम चरण पुगेको र प्रसारण लाइनको काम भैरहेको छ । समग्रमा आयोजनाको काम ९८ प्रतिशत भन्दा बढी सम्पन्न भैसकेको छ । आयोजनाका प्रवक्ता डा. न्यौपानेका अनुसार अब कुनै व्यवधान नआए आगामी फागुनभित्र विजुली बल्नेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।