अज्ञात समूहव्दारा मोटरसाइकल आगजनी

 शम्भु गौतम     ११ असार २०७६, बुधबार

दोलखा, असार ११

भीमेश्वर नगरपालिका ६ महादेवखोलामा अज्ञात समूहले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । विप्लव माओवादीले बन्दको आह्वान गरेकै दिनको राती करिब ९ः३० बजे अज्ञात समूहले मोटरसाइकलमा आजजनी गरेको हो ।
काठमाडौँबाट दोलखा चरिकोट आउँदै गरेका भीमेश्वर नगरपालिका ६ का अर्जुन खनाल चढेको माटरसाइकल हिजो राती करिब ९ः३० बजे आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बा ७९ प १६३२ नं को २२० सीसी को पल्सर मोटरसाइकलमा आएका खनाललाई महादेवखोलामा एकजनाले सामुदायिक अस्पताल जाने भनी लिफ्ट मागेका थिए । उनलाई लिफ्ट दिन मोटरसाइकल रोक्दा बाटोमुनिबाट मास्क लगाएर पेट्रोलसहित आएका ४ जनाले मोटरसाइकलमा आगो लगाएका थिए ।
आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । मोटरसाइकल धनी खनाललाई राती नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुसल उद्धार गरेको छ । घटनाबारे अनुसन्धान भैरहेको र ती फरारहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।