नेपालको सहज जित, नेपाल फाइनल प्रवेश

 राजन शिवाकोटी     २३ असार २०७६, सोमबार

२३ असार २०७६
काठमाडौं/नेपालको क्रिकेट टोली एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ ।

सोमबार आयोजक मलेसियालाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो ।
किनरारा ओभलमा आयोजना भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
नेपाली बलरहरुले कसिलो बलिङ गर्दै मलेसियालाई ४०.५ ओभरमा ८७ रनमा सिमित गर्यो ।
मलेसियाको ब्याटिङलाई ध्वस्त गर्ने क्रममा सागर ढकालले तीन विकेट लिए भने कुशल मल्लले २ विकेट लिए ।
ढकालले १० ओभर बलिङ गर्दै ३ मेडनसहित १६ रन खर्चेर तीन विकेट लिन सफल भए । मल्लले ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेर दुई विकेट लिए ।

तिलक राज भण्डारी, रसिद खान र कमल सिंह ऐरीले १–१ विकेट लिए ।
मलेसियाका लागि मोहमद अमिरले सर्वा्धिक २४ रनको योगदान दिए ।
जीतका लागि ८८ रनको झिनो लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र १५.५ ओभरमा ३ विकेट गुमाएर पछ्यायो ।
नेपालका लागि भीम सार्कीले सर्वा्धिक ३३ रन बनाए । उनले यसक्रममा २ चौका र एक छक्का हिर्काए ।
कप्तान रोहित कुमार पौडेलले ३१ रनको योगदान दिए । यसक्रममा उनले पनि समान २ चौका र १ छक्का हिर्काए ।
ओपनर पवन सर्राफले १८ रन बनाए ।
अब नेपालले हङकङ र सिङ्गापुरको विजेतासँग भिड्नेछ ।

साभारः रातोपाटी अनलाइनबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।