दोलखामा ५ हजारले अझै गरेनन् सम्झौता

 शम्भु गौतम     २५ असार २०७६, बुधबार

दोलखा

भूकम्प गएको ४ वर्ष वितिसक्दा पनि दोलखाका ५ हजारले अझै निजी आवास पुनर्निर्माणको लागि सम्झौता गरेका छैनन् ।
२०७२ साल वैशाखको भुकम्पबाट क्षति पुगेका दोलखाको पुनर्निर्माणमा केन्द्रित भएर गरिएको अन्तरक्रियामा सो कुरा जानकारी गराइएको हो । भुकम्प गएको चार वर्षपछि सदरमुकाम चरिकोटमा बुधबार पुनर्निर्माणमा अवसर र चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा पुनर्निर्माण प्राधिकरणको तर्फबाट शाखा अधिकृत अशोक काफ्ले, पत्रकार महासंघको तर्फबाट पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र गैरसरकारी संस्थाको तर्फबाट ग्रामीण विकास टुकीसंघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यक्रम हालसम्म पाँच हजारले अनुदान सम्झौता नगर्नुको कारण, जोखिम भनिएका ठाउँमा निजी आवास बन्नु, अधिकांशले दुई कोठे भवन मात्रै बनाउनुको कारण र स्तर उन्नतिका लागि दिएका सहयोगमा समस्या आएको विषयमा छलफल भएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई र नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेले अधिकांस ठाउँमा वास्तविक भूकम्प पीडितले अझैसम्म निजी आवास निर्माण राहत नपाएको गुनासो गरे ।
पुनर्निर्माण प्राधिकरण केन्द्रबाट मात्रै परिचालित हुने भन्दा पनि गाउँ वस्तीका भूकम्प पीडितको समस्याको सत्यतथ्य बुझेर मात्रै काम गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी भीमेश्वर नगरपालिका प्रमुख भरत बहादुर केसीले पुनर्निर्माण प्राधिकरणले जनप्रतिनिधिको कुरा सुन्ने प्रयास नै नगरेकाले पनि पुनर्निर्माणमा कठिनाइ भएको आरोप लगाए । ‘कतिपय एकीकृत बस्तीको नाप नक्सा नै गलत बनाएर पुनर्निर्माणमा ढिलाई भएको छ ।’ उनले भने । ऐतिहासिक दोलखा बजारका जनताको ढुलमुले व्यवहारका कारणले दोलखालाई सम्पदा बस्ती बनाउन मुस्किल भएको बताउदै उनले काठमाडौं बसोबास गर्ने दोलखा बजारका जनताले मनैदेखि पुनर्निर्माणमा नलागे दोलखाको भविष्य संकटमा पर्ने बताए ।
पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा भीमेश्वर नगरपालिकाका जनप्रतिनिधि र जनता सहित करिब सय जनाको उपस्थिति थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।